गृहपृष्ठ ग्लोबल आइएमई बैंकको २०औँ साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

ग्लोबल आइएमई बैंकको २०औँ साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

ग्लोबल आइएमई बैंकको २०औँ साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ। पारित लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको छ।

सञ्चालक समितिका तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पनि सभाले पारित गरेको छ। समीक्षा अवधिमा बैंकले ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशतले बढी हो। बैंकको सञ्चालन मुनाफा ९ अर्ब ६० करोड रुपैयाँ रहेको छ। बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३९ अर्ब ६८ करोड ६० लाख रुपैयाँ पुगेको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले शेयरधनीको निरन्तर विश्वास र साथप्रति आभार व्यक्त गरे। ग्राहक, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण शुभेच्छुकको सहयोगकै कारण बैंकले गौरवमय दुई दशकको यात्रा सफलतापूर्वक पूरा गर्न सकेको उनले बताए।

नेपाल सरकार र नेपाल राष्ट्र बैंकका नीति तथा निर्देशनको पूर्ण पालना गर्दै बैंकलाई थप सुरक्षित, भरपर्दो र सन्तुलित रूपमा विस्तार गर्दै लैजाने प्रतिबद्धता पनि अध्यक्ष ढकालले व्यक्त गरे। ग्राहकलाई अझ सहज र अत्याधुनिक सेवा प्रदान गर्न डिजिटल बैंकिङ प्रणालीमा थप लगानी विस्तार गरिने उनले जानकारी दिए।

सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली आवश्यकता अनुसार संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि पारित गरेको छ। यस्तै, आगामी आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्त गर्ने प्रस्तावसमेत सभाले स्वीकृत गरेको छ।

साधारण सभामा नियमनकारी निकायका प्रतिनिधि, शेयरधनी, संस्थागत लगानीकर्ता तथा सञ्चारकर्मीको उल्लेखनीय उपस्थिति थियो।

आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधामा सम्मानित हुँदै आएको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ।

यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयरलगायतका प्रतिष्ठित पुरस्कारसमेत प्राप्त गरेको छ।

ग्लोबल आइएमई बैंक ७७ जिल्लामा सञ्जाल विस्तार गर्न सफल पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो। बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ।

बैंक विदेशबाट वैधानिक माध्यममार्फत नेपालमा रेमिट्यान्स भित्र्याउने मुलुककै प्रमुख वित्तीय संस्थाका रूपमा पनि स्थापित छ। बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायत विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत नेपालमा विप्रेषण भित्र्याउँदै आएको छ। यसबाट राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुगेको छ।

यसैबीच, हालै भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितको तत्काल राहत तथा उद्धारका लागि बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत र बैंकका कर्मचारीको एक दिनको तलब बराबरको रकमसहित ५ करोड ७५ लाख ९२ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ।

प्रकाशित समय : १४:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु