गृहपृष्ठ काभ्रेपलाञ्चोकमा ४५ प्रतिशतमा मात्र सिँचाइ सुविधा

काभ्रेपलाञ्चोकमा ४५ प्रतिशतमा मात्र सिँचाइ सुविधा

काभ्रेपलाञ्चोकमा ४५ प्रतिशतमा मात्र सिँचाइ सुविधा

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको कुल खेतीयोग्य जमिनमध्ये हालसम्म ४५ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ । बाँकी ५५ प्रतिशत जमिनमा अकासेपानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको छ ।

जिल्लास्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धुलिखेलका अनुसार हालसम्म जिल्लाको सिँचाइयोग्य जमिनको ४५ दशमलव ३ प्रतिशत अर्थात् १२ हजार ९५६ हेक्टर क्षेत्रफलमा नियमित सिँचाइ सेवा पुगेको हो । जिल्लामा कुल ५८ हजार १२३ हेक्टर खेतीयोग्य जमिन रहेकामा २८ हजार ७७१ हेक्टर जमिन सिँचाइयोग्य मानिन्छ । जसमध्ये हालसम्म करिब १३ हजार हेक्टरमा सिँचाइ सञ्जाल विस्तार भइसकेको डिभिजन प्रमुख इन्जिनियर राजकुमार तण्डुकारले जानकारी दिए। उनका अनुसार पछिल्लो एक वर्षम ९३२ हेक्टरमा सिँचाइ सुविधा बिस्तार भएको छ ।

उक्त अवधिमा नयाँ आयोजना, पुनर्निर्माण तथा मर्मतसम्भारमार्फत कुल ९३२ हेक्टर जमिनमा सिँचाइ सुविधा थप एवं सुदृढ गरिएको जनाइएको हो । प्रमुख इन्जिनियर तण्डुकारका अनुसार खानीखोला गाउँपालिका–२ स्थित भाङटारबेँसी बृहत् सिँचाइ योजनाअन्तर्गत पाँच र चौँरीदेउराली–२ नाग्रेस्थित दुतीबेँसी पुरानो कुलो योजनाको १० गरी १५ हेक्टर क्षेत्रफलमा नयाँ सिँचाइ संरचना बनाइएका छन् । यस्तै, पुनर्निर्माणतर्फ १० हेक्टर तथा सिञ्चित क्षेत्र सुदृढीकरण (मर्मतसम्भार)बाट थप ९१७ हेक्टर खेतबारीमा पानी पुर्याइएको हो ।

सुदृढीकरण कार्यक्रमअन्तर्गत पनौती–४ र ८ नम्बर वडाको लिलावती बृहत् सिँचाइ सुधार योजनाबाट ४० हेक्टर, पनौती–९ र १० को नौबिसे फाँटबाट २५ हेक्टर, पाँचखाल–१ र ३ को धनेको बाँध सहेले पोखरीबाट २० हेक्टर तथा बनेपा–२, ३ र ४ को माँझकुलो सिँचाइ योजनाबाट २० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको प्रमुख इन्जिनियर तण्डुकारले बताए।

अन्य विभिन्न योजनाको मर्मतसम्भारबाट मात्रै ८१२ हेक्टर जमिनमा सिँचाइ सुदृढ भएको कार्यालयले जनाएको छ । त्यसैगरी भौतिक पूर्वाधार तथा नदी नियन्त्रणतर्फ तीन किलोमिटर पक्की नहर निर्माण, १२ किमी ७१२ मिटर लम्बाइमा एचडीपीई, जीआई तथा ह्युम पाइप जडान गरिएको छ भने १७ वटा साइड इन्टेक, ३५ सिँचाइ संरचना र १६ सिँचाइ पोखरी निर्माण गरिएको प्रमुख इन्जिनियर तण्डुकारले बताए ।

प्रमुख इन्जिनियर तण्डुकारका अनुसार पहिरो तथा नदी नियन्त्रणतर्फ ६४३ मिटर ग्याबिन, ३३ मिटर आरसिसी रिटेनिङ, करिब सात किमी प्लम्प कङ्क्रिट तथा आधा किमी आरआरएम रिटेनिङ–वाल निर्माण गरिएको छ । यस्तै नवीकरणीय ऊर्जा प्रवद्र्धनतर्फ ३५ सोलार स्ट्रिट लाइट तथा एक सेट सोलार लिफ्ट पम्प प्रणाली जडान गरिएको छ ।

गत आर्थिक वर्षमा सञ्चालित कुल १०७ वटा सतह सिँचाइ आयोजनामध्ये ४५ वटामा पानी सञ्चालन भइसकेको छ भने ४९ वटा नदी-पहिरो नियन्त्रण तथा बस्ती संरक्षण योजनामध्ये १३ वटाको निर्माण सम्पन्न भएका प्रमुख इन्जिनियर तण्डुकारले बताए।

प्रकाशित समय : १४:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु