गृहपृष्ठ ‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै
बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगञ्ज-१ धम्बोजीका दुई युवाको योगदानसहित परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी गरेको छ ।
विसं २०८२ भदौ २३ गते काठमाडौँमा भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका १९ वर्षीय आयुष थापा र २३ वर्षीय सुलभराज श्रेष्ठको योगदानलाई नयाँ पुस्तामाझ परिचित गराउँदै उनिहरूको स्मृतिलाई दीर्घकालसम्म जीवन्त राख्ने उद्देश्यले स्थानीय पाठ्यक्रममा परिचय समेट्न लागिएको उपमहानगर कार्यालयले जनाएको छ ।
उपमहानगरप्रमुख प्रशान्त विष्टले सहिद परिवारको आग्रहअनुसार दुवै युवाको परिचय स्थानीय पाठ्यक्रममा समावेश गर्ने प्रक्रिया अघि बढाइने बताए । “नयाँ पुस्तालाई जेनजी सहिदको योगदानबारे जानकारी गराउँदै उहाँहरूको स्मृतिलाई जीवन्त राख्न स्थानीय पाठ्यक्रममा परिचय समेट्ने तयारी भइरहेको छ”, उनले भने ।
सरकारी विवरणमा पनि आयुष थापा र सुलभराज श्रेष्ठलाई नेपालगञ्ज-१, बाँकेका जेनजी सहिदका रूपमा उल्लेख गरिएको छ । दुवै युवाको सम्मान तथा स्मृतिमा नेपालगञ्ज उपमहानगर र वडा कार्यालयले विभिन्न भौतिक तथा सामाजिक गतिविधि पनि अघि बढाएको छ ।
नेपालगञ्ज-१ का वडाध्यक्ष एवं प्रवक्ता प्रमोद रिजालका अनुसार धम्बोजीस्थित वडा कार्यालय परिसरमा दुवै सहिदको स्मृतिमा ‘सहिद योग भवन’ र खुला ‘जिम हाउस’ निर्माण गरिएको छ । उहाँहरूकै सम्मानमा थप संरचना निर्माण प्रक्रिया पनि अघि बढाइएको उनको भनाइ छ ।
वडाध्यक्ष रिजालले भने, “उहाँहरूको सम्मानमा वाटरपार्क नजिकै अर्धकदको सालिक निर्माण गर्नुका साथै विशालनगर क्षेत्रमा उहाँहरूका नाममा ‘सहिद प्रवेशद्वार’ निर्माण भइरहेको छ ।” उपमहानगरले दुवै सहिदको स्मृतिमा ‘सहिद रनिङ शिल्ड’ प्रतियोगिता सञ्चालन गर्ने निर्णय पनि गरेको उनले जानकारी दिए ।
वडाध्यक्ष रिजालका अनुसार स्थानीय सरकार सहिद परिवारका समस्या तथा माग सम्बोधन गर्न निरन्तर संवादमा छ । जेनजी आन्दोलनका क्रममा एउटै टोलका दुई युवाले ज्यान गुमाएपछि धम्बोजीका स्थानीयवासीमा घटनाको अहिलेसम्म प्रभाव रहेको स्थानीयवासी बताउँछन् ।
आयुष र सुलभका परिवारले छोराहरूको मृत्युको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग गर्दै आएका छन् । आफ्ना छोराले काठमाडौँमा ज्यान गुमाएको एक वर्ष बितिसक्दा पनि घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुन नसकेको भन्दै सहिदका आफन्त तथा परिवारले तत्काल आफ्ना माग सम्बोधन हुनुपर्ने बताएका छन् ।
परिवारले सहिदको सम्मान, परिवारका एक सदस्यलाई रोजगारी, घटनाको निष्पक्ष छानबिन तथा गोली चलाउनेमाथि कानुनी कारबाहीको माग सरकारसँग गर्दै आएका छन् । सहिद आयुष थापाका पिता सुशील थापाले आन्दोलनका क्रममा निर्दोष युवाले ज्यान गुमाए पनि घटनाको जिम्मेवारी लिने र दोषीमाथि कारबाही गर्ने काम हुन नसकेको बताए।

प्रकाशित समय : १८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु