गृहपृष्ठ बिर्तामोडमा असोज १६ देखि ‘किताब मेला’
बिर्तामोडमा असोज १६ देखि ‘किताब मेला’
झापा । पठन संस्कृतिको विकास तथा पुस्तक पढ्ने बानीलाई प्रोत्साहन गर्ने उद्देश्यले झापाको बिर्तामोडमा चौथो संस्करणको ‘किताब मेला २०८३’ आयोजना हुने भएको छ । इशा बुक सेन्टर बिर्तामोड, झापाली साहित्य समाज र साहित्य पत्रकार मञ्च बिर्तामोडको संयुक्त आयोजनामा असोज १६ देखि ३० गतेसम्म किताब मेला सञ्चालन हुन लागेको हो ।
पछिल्लो समय पुस्तक पढ्नेको सङ्ख्या घट्दै गएको अवस्थामा पठन संस्कृतिको विकासका लागि मेलाको आयोजना गरिएको किताब मेला संयोजक केशवप्रसाद मैनालीले बताए । “पुस्तक पढ्ने संस्कृतिको विकास र पाठकलाई विभिन्न विधाका पुस्तकसँग जोड्ने उद्देश्यले मेला आयोजना गरेका हौँ”, उनले भने ।
मेलामा पाँच हजारभन्दा बढी पुस्तक राखिने जनाइएको छ । विभिन्न विधा तथा उमेर समूह अनुसारका पुस्तकमा १० देखि ३० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको संयोजक मैनालीले जानकारी दिए । मेलामा लेखकसँग संवाद, कविता तथा गजल वाचन, लक्की ड्रलगायतका कार्यक्रम पनि सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रकाशित समय : १८:२० बजे

















