गृहपृष्ठ हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि २५ लाख सहयोग
हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि २५ लाख सहयोग
बाढीले खण्डहर बनाएको बेत्रावती क्षेत्र
नुवाकोट, १७ भदौः
गत १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले खण्डहर बनाएको नुवाकोट र रसुवा जिल्लाको सिमानामा पर्ने बेत्रावती क्षेत्र । तस्बिरः घनश्याम श्रेष्ठ/रासस
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनले २५ लाख सहयोग गरेको छ ।
फाउन्डेसनका सचिव एवं हाम्रो सनसाइन स्कुलका प्रधानाध्यापक दिवेश खत्रीले सो बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई आज चेक हस्तान्तरण गरे ।
खत्रीका अनुसार शिक्षक, कर्मचारी र संस्थाका सदस्यहरुका तर्फबाट रकम सङ्कलन गरी कोषमा जम्मा गरिएको हो । सो अवसरमा सञ्चारमन्त्री डा तिमिल्सिनाले विपद्को समयमा गरिएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै बाढीपीडितको राहत तथा पुनःस्थापनालाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
स्कुलले विगत २५ वर्षदेखि आर्थिक रूपमा विपन्न बालबालिकालाई पूर्ण निःशुल्क शिक्षासहित दिवा खानाको समेत व्यवस्था गर्दै आएको खत्रीको भनाइ छ । कक्षा १२ सम्मको पठनपाठन हुने सो स्कुल काठमाडौँको बौद्धमा छ ।
प्रकाशित समय : १८:२६ बजे

















