गृहपृष्ठ इसेवाको सीईओमा निरज शर्मा नियुक्त

इसेवाको सीईओमा निरज शर्मा नियुक्त

इसेवाको सीईओमा निरज शर्मा नियुक्त

काठमाडौं । इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन्। इसेवा सञ्चालक समितिको भदौ ३० गते बसेको बैठकले असोज १२ गतेदेखि लागू हुने गरी शर्मालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

शर्माको कार्यकाल चार वर्षको हुनेछ। बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव भएका शर्मा ट्रान्जेक्सन बैंकिङ, कार्ड प्रणाली, डिजिटल रूपान्तरण तथा रिटेल बैंकिङका क्षेत्रमा कार्यरत रहँदै आएका छन्।

डिजिटल नवप्रवर्तन, रणनीतिक वृद्धि, ग्राहककेन्द्रित सेवा तथा संस्थागत रूपान्तरणका क्षेत्रमा समेत अनुभव रहेका शर्माले इसेवाको नेतृत्व सम्हाल्नेछन्। इसेवा सञ्चालक समितिले शर्माको बैंकिङ तथा डिजिटल वित्तीय सेवासम्बन्धी अनुभवबाट कम्पनीको आगामी रणनीति कार्यान्वयनमा सहयोग पुग्ने जनाएको छ।

जगदीश खड्काको चारवर्षे कार्यकाल पूरा

यसअघि इसेवाको प्रमुख कार्यकारी अधिकृत रहेका जगदीश खड्काको चारवर्षे कार्यकाल पूरा भएको छ। खड्का २०७९ असोज १२ गते इसेवाको सीईओ नियुक्त भएका थिए।

खड्काको कार्यकालमा इसेवाका प्रयोगकर्ता, मर्चेन्ट तथा आधिकारिक प्रतिनिधिको संख्या बढेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार उनको कार्यकालमा इसेवामा दर्ता भएका प्रयोगकर्ताको संख्या १ करोड ४० लाख र मर्चेन्टको संख्या ६ लाखभन्दा बढी पुगेको छ।

उनको कार्यकालमा डिजिटल कर्जा, फाइनान्स ३६०, इसेवा सर्कल, बिजनेस लिङ्क, बिजनेस एप, इन्टेन्ट पे, क्यालेन्डर तथा इभेन्ट सेवा, बीमा तथा विभिन्न लाइफस्टाइल सेवाको विस्तार भएको कम्पनीले जनाएको छ।

दृष्टिविहीन प्रयोगकर्ताका लागि ‘टकब्याक’ फिचर तथा नेपाली भाषामा एप सञ्चालनमा ल्याइएको पनि कम्पनीले जनाएको छ। खड्काको कार्यकालमा डिजिटल भुक्तानी सेवाको विस्तार, नयाँ उत्पादन तथा सेवाको विकास र वित्तीय पहुँच विस्तारमा काम भएको कम्पनीको भनाइ छ।

इसेवा व्यवस्थापनले खड्काको कार्यकालमा भएका कामले कम्पनीको आगामी यात्राका लागि आधार तयार गरेको जनाएको छ।

प्रकाशित समय : २०:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु