गृहपृष्ठ मुपात्र र याँमता जात्रा भक्तपुरमा सुरु

मुपात्र र याँमता जात्रा भक्तपुरमा सुरु

मुपात्र र याँमता जात्रा भक्तपुरमा सुरु

भक्तपुर । ऐतिहासिक एवं धार्मिक महत्व बोकेको मुपात्र तथा याँमता (राक्षस) जात्रा भक्तपुरमा सोमबारदेखि सुरु भएको छ। यँया पुन्हीका अवसरमा मनाइने यो जात्रा तीन दिनसम्म सञ्चालन हुनेछ।

इतिहास तथा संस्कृतिविद् डा. पुरुषोत्तम लोचन श्रेष्ठका अनुसार मल्लकालमा भक्तपुरका राजा जगतप्रकाश मल्लले धार्मिक कथामा आधारित दृश्य अनुकरण गरी यो जात्रा प्रचलनमा ल्याएका हुन्। देवराज इन्द्रकी आमा वसुन्धराले चतुर्मासको व्रत बस्दा आवश्यक पर्ने पारिजातको फूल लिन इन्द्रले छोरा जयन्तलाई मर्त्यलोक पठाएको र फूल टिप्ने क्रममा राक्षसले जयन्तलाई पक्राउ गरी बाँधेको कथासँग जात्रा जोडिएको छ।

जात्रामा एक जना मुपात्र र दुई जना धिःचा गरी तीन जना राक्षसको भूमिकामा सहभागी हुन्छन्। उनीहरूलाई राक्षसको पोसाक लगाएर अनुहारमा विभिन्न रंगको शृंगार गरिन्छ र हातमा तरबार दिइन्छ। त्यसपछि उनीहरूले भक्तपुर नगरका विभिन्न टोलको परिक्रमा गर्छन्।

नगर परिक्रमा गर्दा टोलटोलमा ठड्याइएका यमांद्यःलाई मुपात्रले तीनपटक घुमेर तरबारले हानेको अभिनय गर्छन्। यसलाई इन्द्रजात्राको पहिलो दिन टोलटोलमा बाँधेर राखिएका जयन्तलाई मुक्त गराउन डोरी काटेको प्रतीकका रूपमा लिइन्छ।

मुपात्र जात्रा सुरु हुनुअघि स्थानीय सःकुलान टोलका मानन्धरले दत्तात्रयस्थित भीमसेन मन्दिरअघि त्रिशूल आकारका दुईवटा याँमता (आकाशदीप) बाल्ने परम्परा छ। त्यसपछि तचपालस्थित सँला गणेशको मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराइन्छ।

जात्राको दोस्रो दिन गोल्मढीका मानन्धरले याँमता बाल्छन्। चोछें टोलको छुमा गणेशको मूर्तिलाई खटमा राखेर दरबार स्क्वायरस्थित तलेजु भवानीको दर्शन गराइन्छ। त्यसपछि बाजागाजासहित नगर परिक्रमा गराउने र राति सँला गणेश तथा छुमा गणेशलाई आ–आफ्नो देवगृहमा पुर्‍याउने चलन छ।

जात्राको अन्तिम दिन असोज कृष्ण चौँथीमा टौमढीस्थित आकाश भैरवमा गुठी संस्थानबाट ल्याइएको सरकारी पूजाअर्चना गरिन्छ। त्यसपछि तल्लो टोलका मानन्धरले बुलुचास्थित ढुंगेधाराअघि दुईवटा याँमता बाल्छन्। मशान भैरवको जात्रासँगै याँमतालाई नगर परिक्रमा गराउने परम्परा रहेको डा. श्रेष्ठले बताए।

अन्तिम दिन नायखिङ बाजा बजाएर नगर परिक्रमा गराउने तथा लाकुलाछें टोलबाट पुलुकिसी जात्रा निकाल्ने चलन छ। पुलुकिसीलाई टौमढीस्थित भैरवनाथको तीनपटक परिक्रमा गराई नगर परिक्रमा गराइन्छ। पुलुकिसीले नगरको आधा भाग परिक्रमा गरेपछि मात्र मुपात्र जात्रा निकाल्ने परम्परा रहेको छ।

लोककथाअनुसार इन्द्रले राक्षससँग युद्ध गरी छोरा जयन्तलाई मुक्त गराएको कथालाई जात्राका विभिन्न गतिविधिसँग जोडिएको छ। यही कथालाई आधार बनाएर देवी पुराणमा उल्लेखित प्रसंगको दृश्य अनुकरण गरी मल्लकालमा जात्रा सुरु गरिएको डा. श्रेष्ठले बताए।

मुपात्र र पुलुकिसीबीच भेट हुन नहुने मान्यतासमेत रहेको छ। स्थानीय विश्वासअनुसार पुलुकिसीले मुपात्रलाई कुल्चिएर मारेमा अनिष्ट हुने भएकाले दुवैको भेट नहुने गरी जात्रा सञ्चालन गर्ने गरिन्छ।

मुपात्र बन्ने व्यक्तिले जात जाने र भातपानी नचल्ने सामाजिक मान्यता रहेको बताइन्छ। यही परम्पराका कारण गुठी संस्थानले प्रायः स्थानीय बासिन्दाभन्दा बाहिरका व्यक्तिलाई मुपात्र बनाउने गरेको संस्कृतिविद् डा. श्रेष्ठले बताए।

प्रकाशित समय : २०:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु