गृहपृष्ठ कृत्रिम बुद्धिमत्तालाई थारू भाषा सिकाउने प्रयास

कृत्रिम बुद्धिमत्तालाई थारू भाषा सिकाउने प्रयास

कृत्रिम बुद्धिमत्तालाई थारू भाषा सिकाउने प्रयास

बाँके । लुम्बिनी प्राविधिक विश्वविद्यालय, इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान नेपालगञ्जका एमटेक तहका विद्यार्थीले कृत्रिम बुद्धिमत्ता (एआई) लाई थारू भाषा सिकाउने प्रयास थालेका छन्।

विद्यार्थीले वडा कार्यालयका सेवा डिजिटल बनाउनेदेखि भाषिक प्रविधिसम्मका १० वटा परियोजना तयार गरेका छन्। ती परियोजना सम्बन्धित सरकारी, गैरसरकारी तथा निजी संस्थालाई हस्तान्तरण गरिएको विश्वविद्यालयले जनाएको छ।

इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानअन्तर्गत एमटेक कम्प्युटर साइन्स र एमटेक इन्फर्मेसन टेक्नोलोजीका दोस्रो सेमेस्टरका विद्यार्थीले विभिन्न संस्थाका आवश्यकता र समस्या पहिचान गरी परियोजना विकास गरेका हुन्।

परियोजनामध्ये थारू भाषामा पाठ निर्माण गर्न सकिने वेबमा आधारित प्राकृतिक भाषा प्रशोधन प्रणाली पनि रहेको छ। कृत्रिम बुद्धिमत्तालाई थारू भाषा सिकाउने र थारू भाषामै पाठ सिर्जना गर्न सक्ने प्रणाली विकास गर्ने उद्देश्यले परियोजना अघि बढाइएको एमटेकका विद्यार्थी लौटन थारुले बताए।

“थारू भाषाका सानोतिनो शब्दको अर्थ आइरहेको छ, तर लामो शब्दको अर्थ आउन सकेको छैन,” उनले भने।

विद्यार्थी थारुका अनुसार अहिले प्रयोगमा रहेका अधिकांश एआईमा आधारित उपकरण तथा भाषिक नमुनामा थारू भाषाको स्रोत र समर्थन सीमित छ। यही अवस्थालाई ध्यानमा राखेर थारू भाषालाई एआई प्रणालीमा समेट्ने प्रयास गरिएको हो।

परियोजनामा थारू भाषाभित्रको भाषिक तथा क्षेत्रगत विविधतालाई समेत समेटिएको छ। राना थारू, डगौरा थारूलगायतका भाषिक प्रयोगलाई प्रणालीमा समावेश गर्ने प्रयास गरिएको विद्यार्थीले बताएका छन्।

थारू भाषाका पर्याप्त डिजिटल स्रोत तथा भाषिक तथ्याङ्क उपलब्ध नहुँदा प्रणाली विकासको काम अपेक्षाभन्दा केही ढिलो भइरहेको थारुले बताए। उपलब्ध स्रोत सङ्कलन तथा प्रशोधन गर्ने काम भइरहेको र लोरा प्रविधिमार्फत ‘क्वेन मोडल’लाई थारू भाषामा अनुकूलन गर्ने काम भइरहेको उनले जानकारी दिए।

प्रणालीको भाषिक शुद्धता र प्रयोगयोग्यता परीक्षणका लागि थारू भाषा जान्ने व्यक्तिबाट मूल्याङ्कन तथा स्तर निर्धारण गरिने तयारी गरिएको छ। यसबाट प्रणालीले उत्पादन गर्ने पाठ थारू भाषाको प्रयोग र भाषिक संरचनासँग मेल खान्छ वा खाँदैन भन्ने परीक्षण गरिनेछ।

परियोजनामा लौटन थारूसहित राजु सुवेदी, रामद्वारिका चौधरी र रविन श्रेष्ठ संलग्न छन्।

लुम्बिनी प्राविधिक विश्वविद्यालयका निमित्त प्रमुख तथा डीन डा. निरज केसीले थारू भाषा एआईलाई सिकाउने अभ्यास नयाँ प्रयोग भएको बताए। उनले थारू भाषाजस्ता स्थानीय भाषालाई डिजिटल प्रविधिमा समेट्न यस्ता प्रयास महत्वपूर्ण हुने उल्लेख गरे।

“कक्षाकोठामा सिकेको ज्ञानलाई वास्तविक संसारका समस्यासँग जोडेर प्रयोग गर्नु परियोजनाको मुख्य उद्देश्य हो,” डा. केसीले भने।

विद्यार्थीले तयार पारेको अर्को परियोजना ‘स्मार्ट वडा सूचना तथा नागरिक सहभागिता प्रणाली’ हो। वडा कार्यालयमा हुने कागजी काम घटाउने तथा सेवा र सूचनालाई डिजिटल माध्यमबाट व्यवस्थित गर्ने उद्देश्यले उक्त प्रणाली विकास गरिएको हो।

समूहका नेता ब्रिजेस वैश्यका अनुसार वडामा सेवा प्रवाहका क्रममा देखिएका समस्या र नागरिकका आवश्यकतालाई पहिचान गरेर प्रणालीको अवधारणा तयार गरिएको हो। वडा कार्यालयमा हुने कागजी कामलाई सकेसम्म कम गर्ने र सेवासँग सम्बन्धित सूचना डिजिटल माध्यमबाट व्यवस्थित गर्ने प्रणालीको लक्ष्य रहेको उनले बताए।

विद्यार्थीका अन्य परियोजनामा क्युआर कोडमा आधारित रेस्टुरेन्ट अर्डर प्रणाली पनि रहेको छ। ग्राहकले क्युआर कोडमार्फत रेस्टुरेन्टका सेवा तथा खाद्य सामग्री हेरेर अर्डर गर्न सक्ने अवधारणामा प्रणाली विकास गरिएको हो।

त्यस्तै, शैक्षिक प्रमाणपत्र प्रमाणीकरण प्रणाली, नतिजा व्यवस्थापन प्रणाली, आधुनिक व्यवस्थापन प्रणाली, डिजिटल नागरिक बडापत्र प्रणाली र किसान सदस्यता कार्ड प्रणालीलगायतका परियोजना पनि विद्यार्थीले तयार गरेका छन्।

एमटेक कम्प्युटर साइन्स र एमटेक इन्फर्मेसन टेक्नोलोजी कार्यक्रमका संयोजक सहायक प्राध्यापक प्रकाश गुप्ताका अनुसार विद्यार्थीले तयार गरेका यी सबै परियोजना कार्यान्वयन हुन भने बाँकी छन्।

विश्वविद्यालयमा एमटेक कम्प्युटर साइन्स र एमटेक इन्फर्मेसन टेक्नोलोजीमा करिब ६० विद्यार्थी अध्ययनरत छन्।

प्रकाशित समय : १९:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु