गृहपृष्ठ अन्तरराष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
अन्तरराष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तरराष्ट्रिय वित्तीय संरचनामा समयानुकूल सुधार गर्न आह्वान गरेका छन्।
संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा आयोजित समूह–७७ र चीनको ५०औँ वार्षिक बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले यस्तो धारणा राखेका हुन्।
बहुपक्षीयतालाई सुदृढ गर्न एकता र सामूहिक प्रयासलाई नवीकरण गर्नुपर्नेमा जोड दिँदै उनले ग्लोबल साउथको आवाजलाई प्रभावकारी रूपमा उठाउनुपर्ने बताए।
उनले संयुक्त राष्ट्रसङ्घ केन्द्रित नियममा आधारित बहुपक्षीय प्रणालीलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिए। पर्याप्त तथा सुलभ वित्तीय स्रोत, प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धिमार्फत दिगो विकास लक्ष्य (एसडीजी) कार्यान्वयनलाई तीव्रता दिनुपर्ने उनको भनाइ थियो।
आर्थिक तथा डिजिटल रूपान्तरणमार्फत विद्यमान असमानता घटाउनुपर्नेमा पनि उनले जोड दिए।
नेपालमा हालै आएको भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिको प्रसङ्ग उल्लेख गर्दै परराष्ट्रमन्त्री खनालले जलवायु न्यायको आवश्यकता औँल्याए।
जलवायुजन्य विपद्को सामना गर्न अनुदानमा आधारित जलवायु वित्तको व्यवस्था गर्नुपर्ने बताउँदै उनले साझा समृद्धिका लागि नर्थ–साउथ, साउथ–साउथ र त्रिकोणीय सहयोगलाई थप सुदृढ गर्न आह्वान गरे।
प्रकाशित समय : १९:१३ बजे


















