गृहपृष्ठ कालीगण्डकी ‘गर्ज’ जलविद्युत् आयोजनाको अडिट सुरुङ निर्माण सुरु
कालीगण्डकी ‘गर्ज’ जलविद्युत् आयोजनाको अडिट सुरुङ निर्माण सुरु
म्याग्दी । एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी ‘गर्ज’ जलविद्युत् आयोजनाको ‘अडिट’ सुरुङ निर्माण थालिएको छ ।
कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालि प्रवद्र्धक रहेको आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापस्थित विद्युत्गृह निर्माणस्थलबाट आजदेखि मुख्य सुरुङ जोड्ने ‘अडिट’ सुरुङ निर्माण सुरु गरेको हो । जलविद्युत् आयोजनाको मुख्य सुरुङमा पुग्ने पहुँचमार्गलाई ‘अडिट’ भनिन्छ ।
आयोजनाका सामाजिक विकास, प्रशासन र जनसम्पर्क विभागका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठले पहुँचमार्ग ९अडिट० खनेर सकिएपछि चार ठाउँबाट मुख्य सुरुङ निर्माण गरिने जानकारी दिए । “भालेबासस्थित ४८५ मिटर लामो पहिलो नम्बर अडिटको तीन महिनामा १३० मिटर सुरुङ खनिएको छ,” उनले भने, “विद्युत्गृहको चौथो तथा अन्तिम अडिटको दूरी १७० मिटर हुनेछ् ।”
पाँच किलोमिटर छ सय मिटर मुख्य सुरुङ रहने आयोजनाले छिट्टै बाँध र गाडपारका थप दुई ठाउँबाट ‘अडिट’ सुरुङ खन्ने तयारी गरेको वरिष्ठ प्रबन्धक श्रेष्ठले बताए । उनका अनुसार अडिटसहित यस आयोजनाले सात किलोमिटर लामो सुरुङ बनाउने भएको छ ।
मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसाको पहिरा थाप्लामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा विद्युत्गृह निर्माणको तयारी भएको छ । आयोजनाका निर्देशक रमण सिंहले आगामी चार वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले बर्खालगत्तै बाँध, सुरुङ र विद्युत्गृह निर्माण कार्यलाई समानान्तर रुपमा अघि बढाउने बताए ।
“सिभिल ठेकेदार ‘एन्जेलिक इन्टरनेसनल’ र साउथ एसियन इन्फ्रास्ट्रक्चर परिचालित भइसकेको छ,” उहाँले भन्नुभयो “बर्खायाम सकिएलगत्तै थप जनशक्ति र उपकरण परिचालन गरेर विद्युत्गृह र बाँध निर्माणको तयारी गरेका छौँ ।”
‘रन अफ द रिभर’ आयोजनाको एक किलोमिटर ‘पेनस्टक पाइपलाइन’ रहनेछ् । विद्युत्गृहदेखि आउटलेटको उचाइ ४८० मिटर रहेको छ । प्रवद्र्धक कम्पनी, ठेकेदार र नेपाली सेनाको कार्यालय, आवास र विस्फोटक पदार्थ भण्डारण भवन तयार भएको छ ।
आठ किलोमिटर पहुँचमार्ग निर्माण भएको छ । आयोजनास्थलमा पुग्न गाडपारमा बेलिब्रिज जडानको तयारी भएको छ । घरापदेखि दानासम्म २२० केभी क्षमताको एक किलोमिटर प्रसारण लाइन निर्माण गरेर कालीगण्डकी गर्जको विद्युत् केन्द्रीय प्रणालीमा आबद्ध गराइने भएको छ ।
चालिस अर्ब लागत अनुमान गरिएको आयोजनामा ग्लोबल आइएमी बैङ्कको नेतृत्वमा लक्ष्मी सनराइज, हिमालयन र प्रभु बैङ्कको लगानी रहनेछ । अन्नपूर्ण गाउँपालिका–४ का वडाअध्यक्ष लोकबहादुर फगामीलगायत जनप्रतिनिधि, स्थानीय अगुवा, प्रवद्र्धक कम्पनी, निर्माण कम्पनी तथा सुरक्षा निकायका प्रतिनिधिहरुको उपस्थितिमा सुरुङ खन्न थालिएको छ ।
वडाअध्यक्ष फगामीले कालीगण्डकी गर्ज म्याग्दी जिल्लाको हालसम्मकै ठूलो जलविद्युत् आयोजना भएको बताए । उनका अनुसार नारच्याङ भएर बग्ने नदीहरुमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् ।
पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ३८ मेगावाट क्षमताको नीलगिरि–१, ७१ मेगावाट क्षमताको नीलगिरि–२ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना सञ्चालनमा छन् ।
नारच्याङको सिमाना भएर बग्ने कालीगण्डकीमा ६६ दशमलव तीन मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युुत् आयोजना निर्माणाधीन छ । नौ दशमलव १४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजना निर्माणको तयारी छ ।
प्रकाशित समय : २१:४२ बजे


















