गृहपृष्ठ महासभामा जलवायु न्याय र क्षतिपूर्तिको विषय सशक्तरूपमा उठाइने

महासभामा जलवायु न्याय र क्षतिपूर्तिको विषय सशक्तरूपमा उठाइने

महासभामा जलवायु न्याय र क्षतिपूर्तिको विषय सशक्तरूपमा उठाइने
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा जलवायु परिवर्तनबाट सिर्जित क्षति, जलवायु न्याय, क्षतिपूर्ति तथा जलवायु वित्तको विषयलाई नेपालले सशक्तरूपमा उठाउने भएको छ ।
प्रतिनिधिसभाको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आजको बैठकमा महासभामा नेपालको सहभागिताबारे जानकारी दिँदै परराष्ट्र सचिव अमृतबहादुर राईले अत्यन्त न्यून हरितगृह ग्यास उत्सर्जन गर्ने नेपालजस्ता मुलुकले जलवायु परिवर्तनको गम्भीर असर भोग्नुपरिरहेको विषय अन्तरराष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरिने स्पष्ट पारे ।
जलवायु परिवर्तनका कारण नेपालले पटकपटक ठूलो जनधनको क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै उनले जलवायुजन्य विपद्बाट प्रभावित मुलुकलाई न्यायोचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने विषय नेपालले विश्वसमक्ष प्रस्तुत गर्ने जानकारी दिए ।
महासभामा नेपालले ‘फण्ड फर रेस्पोन्डिङ टु लस एण्ड ड्यामेज’ लगायत संयन्त्रबाट तत्काल र उचित क्षतिपूर्ति प्राप्त गर्नुपर्ने विषय उठाउँदै जलवायु न्यायका लागि विश्व समुदायलाई आह्वान गर्ने सचिव राईले बताए ।
उनका अनुसार नेपालले जलवायु उत्थानशील पूर्वाधार निर्माण, जलवायु स्मार्ट कृषि प्रवर्द्धन तथा सरोकारवालाको क्षमता विकासका लागि आवश्यक प्रविधि र जलवायु वित्त सहज तथा पर्याप्तरूपमा उपलब्ध गराउन विकसित मुलुकसँग आग्रह गर्नेछ ।
त्यसैगरी नेपालले प्रकृतिमैत्री जीवनशैली, ४६ प्रतिशतभन्दा बढी वन क्षेत्र, हिमाल, हिमाली क्षेत्र तथा बृहत् नदी प्रणालीमार्फत विश्व वातावरण संरक्षणमा पुर्‍याउँदै आएको योगदानबारे महासभामा जानकारी गराउनेछ ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको मूल नारा ‘विश्वास पुनस्र्थापना, रूपान्तरणको व्यवस्थापनः सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसङ्घ’ रहेको छ । महासभाको उच्चस्तरीय सप्ताह यही असोज ६ देखि १२ गतेसम्म सञ्चालन हुने सचिव राईले जानकारी दिए । उनका अनुसार महासभामा ८१ मुलुकका राष्ट्रप्रमुख तथा ५० मुलुकका सरकारप्रमुख सहभागी हुनेछन् । नेपालबाट प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डलले सहभागिता जनाउनेछ ।
महासभाको उच्चस्तरीय सप्ताहअन्तर्गत हुने सामान्य बहसमा प्रधानमन्त्री शाहले असोज ८ गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको सचिव राईले बताए ।
महासभामा नेपालले ‘सहरदेखि समुद्रसम्मः जलवायु उत्थानशील भविष्यका लागि कार्य गर्न आह्वान’ विषयमा उच्चस्तरीय साइड इभेन्ट आयोजना गर्नेछ । जलवायु परिवर्तनका कारण विशेषगरी गरिब तथा जोखिममा रहेका क्षेत्रमा परेको असर र त्यसबाट सिर्जित विनाशकारी परिणामबारे अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्नु उक्त कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।
महासभाका क्रममा अति कम विकसित मुलुक, भूपरिवेष्ठित विकासोन्मुख मुलुक, असङ्लग्न मुलुक तथा ‘ग्रुप अफ ७७ एन्ड चाइना’ लगायत मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले सहभागिता जनाउने कार्यक्रम रहेको छ । उनले संयुक्त राष्ट्रसङ्घद्वारा आयोजित विभिन्न उच्चस्तरीय छलफल तथा साइड इभेन्टलाई सम्बोधन गर्नुका साथै मित्रराष्ट्रका समकक्षी तथा संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीसँग भेटवार्ता गर्ने सचिव राईले बताए ।

प्रकाशित समय : १५:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु