गृहपृष्ठ हङकङसँग १५ रनको हार व्यहोरे पनि सेमिफाइनलमा पुग्यो नेपाल
हङकङसँग १५ रनको हार व्यहोरे पनि सेमिफाइनलमा पुग्यो नेपाल
KLANG, MALAYSIA - SEP 06: Pictures from the match between Nepal and Saudi Arabia held at the Bayuemas Oval on September 06, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council
काठमाडौं : मलेसियामा जारी एसीसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भयो। क्वालालाम्पुरस्थित बायुमास ओभल मैदानमा मंगलबार सम्पन्न खेलमा हङकङले प्रस्तुत गरेको २६२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४९.१ ओभरमा २४६ रन बनाउँदै अलआउट भयो।
प्रतियोगितामा पहिलो हार व्यहोरेको नेपाल नेट रनरेटका आधारमा समूहको विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गर्यो। नेपालका लागि मध्यक्रमका ब्याटर इशान पाण्डेले सर्वाधिक ९० रनको योगदान दिए। उनले १०६ बलमा ६ चौका र २ छक्का प्रहार गरे पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्।
अन्य ब्याटर आसिफ शेखले ४४, दीपेन्द्र सिंह ऐरीले २५, करण केसीले २१ र गुल्सन झाले २० रन जोडे। नेपालविरुद्ध हङकङका अजिज खानले सर्वाधिक ४ विकेट लिए भने यासिम मुर्तजाले २ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रनको योगफल तयार पारेको थियो। हङकङका लागि बाबर हयातले अविजित ११७ रनको शतकीय इनिङ्स खेले। त्यस्तै शाहिद वासिफले ४५ र एहसान खानले अविजित ३५ रन जोडे।
नेपालका तर्फबाट बलिङमा सन्दीप लामिछानेले ४ र शेर मल्लले ३ विकेट लिएका थिए। यो जितसँगै समूह उपविजेता बनेको हङकङ पनि सेमिफाइनलमा पुगेको छ। आयोजक मलेसिया भने प्रतियोगिताबाट बाहिरिएको छ।
नेपालले यसअघि बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गरेको थियो। समूह ‘ए’ विजेता नेपाल अब सेमिफाइनलमा समूह ‘बी’को उपविजेता ओमानको सामना गर्नेछ भने हङकङले समूह ‘बी’को विजेता युएईसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको उपाधि विजेता टोलीले आगामी वर्ष हुने एसिया कपमा स्थान सुरक्षित गर्नेछ।
प्रकाशित समय : १६:३२ बजे


















