गृहपृष्ठ रसुवा बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्याटेलाइट इनटरनेट
रसुवा बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्याटेलाइट इनटरनेट
काठमाडौं– भोटेकोशी नदीमा आएको भीषण बाढीबाट दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा क्षति पुगेपछि रसुवाका प्रभावित क्षेत्रमा निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको छ ।
डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले युटेलस्याट वनवेबसंगको सहकार्यमा नेपाल दुरसञ्चार प्राधिकरणको स्विकृति तथा समन्वयमा बाढी प्रभावित क्षेत्रमा वैकल्पिक इन्टरनेट सेवा उपलब्ध गराएको हो । उक्त सेवा भदौ २० गतेदेखि प्राथमिकताका आधारमा सञ्चालनमा ल्याइएको डिशहोमले जनाएको छ ।
बाढीका कारण सञ्चार सेवा अवरुद्ध भएपछि उद्धार, राहत तथा समन्वय कार्यमा कठिनाइ नहोस् भन्ने उद्देश्यले सरकारी कार्यालय, सुरक्षा निकाय, उद्धार तथा राहत शिविर र महत्वपूर्ण समन्वय केन्द्रहरूमा निःशुल्क स्याटेलाइट इन्टरनेट जडान गरिएको ।
युटेलस्याट वनवेबको निम्न पृथ्वी कक्षमा आधारित स्याटेलाइट प्रविधिबाट उपलब्ध गराइएको इन्टरनेटले बाढीका कारण क्षतिग्रस्त स्थलीय दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारको विकल्पका रूपमा काम गर्नेछ ।
यसबाट सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय प्रशासन, उद्धारकर्मी तथा राहत कार्यमा संलग्न संस्थाबीच सूचना आदानप्रदान र तत्काल समन्वय गर्न सहज हुने अपेक्षा गरिएको छ ।
डिशहोमले प्राकृतिक विपद्का समयमा भरपर्दो वैकल्पिक सञ्चार सेवा उपलब्ध गराउनु आफ्नो प्राथमिकता भएको जनाएको छ । कम्पनीले विपद् व्यवस्थापन तथा पुनःस्थापनाका लागि आवश्यकताअनुसार आफ्नो सेवा र स्रोत परिचालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
कम्पनीका अनुसार नेपाल दूरसञ्चार प्राधिकरण, सरकारी निकाय, सुरक्षा निकाय तथा स्थानीय सरोकारवालासँग समन्वय गरी प्रभावित क्षेत्रमा सञ्चार सेवाको आवश्यकता र प्राथमिकताको निरन्तर मूल्याङ्कन गरिनेछ ।
दूरसञ्चार तथा इन्टरनेट पूर्वाधार पूर्ण रूपमा मर्मत तथा पुनःस्थापना नभएसम्म आवश्यकताका आधारमा उच्च प्राथमिकतामा रहेका थप स्थानमा स्याटेलाइट इन्टरनेट सेवा विस्तार गर्दै जाने डिशहोमले जनाएको छ ।
प्रकाशित समय : १६:३९ बजे


















