गृहपृष्ठ हेटौँडामा पाइने चरा एउटै पुस्तकमा

हेटौँडामा पाइने चरा एउटै पुस्तकमा

हेटौँडामा पाइने चरा एउटै पुस्तकमा

बागमती । हेटौँडा उपमहानगरपालिका क्षेत्रमा पाइने चराको सचित्र वर्णन गरिएको पुस्तक बजारमा आएको छ । उपमहानगरपालिकाले प्रकाशन गरेको पुस्तकको लेखन तथा सम्पादन लामोसमयदेखि चरामा अध्ययन एवम् अनुसन्धान गरिहेका दृष्टान्त विडारीले गरेका हुन ।

विगत छ/सात वर्ष यताको तथ्याङ्कलाई पुस्तकमा समेटिएको बताउँदै लेखक तथा सम्पादक विडारीले हेटौँडा क्षेत्रमा पाइने ३६४ प्रजातिका चरालाई पुस्तकमा सचित्र प्रस्तुत गरिएको जानकारी दिए ।

“मौषम अनुसार पाइने चरा, तिनीहरूको सङ्ख्यालगायतको विवरणलाई पुस्तकमा समेटिएको छ” उनले भने, “नेपालमा पाइने ९०४ प्रजातिका चरामध्ये ३६४ प्रजातिका चरा हेटौँडा क्षेत्रमा नै पाइएको छ ।” कुल १६० पृष्ठमा समेटिएको यो पुस्तक चराको अध्ययन, अनुसन्धानमा लाग्नेका लागि पनि बहुउपयोगी हुने विश्वास लिइएको उनले बताए ।

पुस्तकमा लेखक/सम्पादक विडारीका साथै अम्सिस पन्त, निशान शर्मा, दशरथ श्रेष्ठ, प्रसन श्रेष्ठ र दीपक बुढाथोकीले खिच्नुभएका तस्बिर रहेका छन् । हेटौँडा जलसम्पदाले पनि सम्पन्न क्षेत्र हो । यहाँका राप्ती खोला, कर्रा खोलाका साथै बनविज्ञान क्याम्पसको जङ्गल, हटिया, हर्नामाडीका साथै मत्स्य विकास अनुसन्धान केन्द्रका भू–भाग पर्याप्त चरा पाइने गन्तव्यका रूपमा रहेको उनको भनाइ छ ।

अध्येताका अनुसार हेटौँडाबाट पूर्वतर्फ जाने मेनरोडसँगै रहेको बन विज्ञान अध्ययन संस्थानको जङ्गलभित्र मात्रै १५० भन्दा बढीको प्रजातिका चरा रहेका छन् ।

पर्याप्त जलाशयका कारण हेटौँडा र आसपासका क्षेत्र चराचुरुङ्गीको रोजाइमा पर्ने गरेको बताउँदै विडारीले पछिल्ला वर्षमा चरा अवलोकन गर्न आउनेको सङ्ख्या पनि बढ्दै गएको बताए ।

चरा विज्ञ मनशान्त घिमिरेका अनुसार नेपालमा आउने विदेशी पर्यटकमध्ये आठ प्रतिशत पर्यटक चरा हेर्नकै लागि आउने गरेका छन् । चरा पर्यटनको विकास गर्न सकेमा नेपालमा विदेशी पर्यटकको आगमनलाई बढाउन सकिने उनले बताए ।

चराहरूको ‘ट्रान्जिट प्वाइन्ट’ हेटौँडा
अध्ययन अनुसार विशेषतः जाडो छल्न चीन, मङ्गोलिया, साइबेरियालगायतका स्थानबाट जाडोका समयमा आउने चरा हेटौँडा हुँदै चितवन, नारायणीका साथै भारतका विभिन्न भू–भागमा पुग्ने गरेका छन् ।

“हेटौँडा हिउँदमा आउने पाहुना चरा आउँदा र जाँदा एक दुई दिन बिताउने ट्रान्जिट प्वाइन्ट पनि हो”, उनले भने, “चरा विशेषत खराब मौषम आदिका कारण यहाँ सामान्यतः एक/दुई दिन आराम गरेर चितवन, नारायणी हुँदै भारतसम्म पुग्ने गरेको पाइन्छ ।”

पाहुना चरा जाँदाजस्तै फर्कँदा पनि यहाँ एक/दुई दिन बिताएर साइबेरिया, मङ्गोलियातर्फ फर्कने गरेको उनले बताए । जलाशयसँगै वरपर चुरे क्षेत्रको जङ्गल भएका कारण पनि यो क्षेत्र चराको रोजाइमा पर्ने गरेको छ । पछिल्ला समयमा सिमसार र आसपासका क्षेत्रमा विचरण तथा प्रजनन् गर्ने चराका प्रजाति वातावरण प्रदूषण एवम् सिमसारमा हुने गरेको अतिक्रमणका कारण सङ्कटमा परेको पाइन्छ ।

वरपरका चुरे पहाडसँगै आसपासका हरियाली युक्त डाँडाकाँडा, खोलानालाका साथै समथर भू–भागसमेतले हेटौँडा पहाडी तथा तराई दुबै क्षेत्रमा पाइने चराको गन्तव्य हो । जाडो याममा आउने हिउँदे चराका साथै यहाँका नदीनाला एवम् मत्य अनुसन्धान केन्द्रमा रहने जलपंछीका कारण यो चरा पर्यटनको राम्रै गन्तव्य बन्न सक्ने बिडारीको भनाइ छ ।

प्रकाशित समय : १६:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु