गृहपृष्ठ अष्ट्रेलिया भ्रमणमा नेपालको ब्याटिङ किन चल्न सकेन ?
अष्ट्रेलिया भ्रमणमा नेपालको ब्याटिङ किन चल्न सकेन ?
काठमाडौं- नेपाल ‘ए’ क्रिकेट टोली हाल अष्ट्रेलिया भ्रमणमा छ । टोलीले टप एन्ड टी–२० सिरिज सकाएर अहिले एकदिवसीय खेल खेलिरहेको छ । नेपाल ‘ए’ ले एकदिवसीय शृङ्खलामा पनि आफ्नो खराब ब्याटिङ जारी राखेको छ । नेपालले पहिलो खेलमा अष्ट्रेलियाको घरेलु टोली तास्मिनियाविरुद्ध खेलेको थियो ।
उक्त खेलमा पहिला ब्याटिङ गरेको नेपाल ४३.३ ओभरमा १९२ रनमै अलआउट भयो । तास्मिनियाविरुद्ध नेपालका कुनै पनि अर्धशतकीय पारी खेल्न सकेनन् । त्यस खेलमा नेपाल २ विकेटले पराजित भयो ।
नेपालले दोस्रो खेलमा झन खराब ब्याटिङ गर्यो । शुक्रबार दक्षिण अष्ट्रेलियाविरुद्धको उक्त खेलमा २६० रनको लक्ष्य पछ्याएको नेपाल २२.१ ओभरमा १२१ रनमै समेटियो । दोस्रो एकदिवसीय खेलमा पनि नेपालका कुनै पनि ब्याटरले अर्धशतकीय इनिङ खेल्न सकेनन् ।
दक्षिण अष्ट्रेलियाविरुद्ध नेपाल १३८ रनले पराजित भयो । नेपालले अब आइतबार अन्तिम खेलमा न्यूजील्यान्डविरुद्ध खेल्नेछ ।
टप एन्ड टी–२० सिरिजमा पनि खराब प्रदर्शन
तेस्रो संस्करणको टप एन्ड टी–२० का लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘ए’ टोलीलाई प्रतियोगिता खेल्न अष्ट्रेलिया पठाएको थियो । ‘ए’ नाम दिए पनि टिममा समावेश अधिकांश खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरिसकेका छन् । नेपालले टप एन्ड टी–२० सिरिज २०२६ मा पनि लिग चरणमा छ वटा खेल खेल्न पायो ।
नेपालले छमध्ये चारमा पराजय र दुई खेलमा मात्र जित निकाल्यो । गत संस्करणमा पनि नेपालले यही प्रकारको नतिजा निकालेको थियो । यसपटक नेपालको सुरुवात निकै कमजोर रह्यो । नेपालले आयोजक नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध ८ विकेटको पराजय व्यहोर्दै प्रतियोगिताको सुरुआत गरेको थियो । दोस्रो खेलमा नेपालको भेट बङ्गलादेश हाई–परफर्मेन्ससँग भयो । उक्त खेलमा नेपालले ९ विकेटको हार व्यहोर्यो ।
तेस्रो खेलमा भने नेपालले उत्कृष्ट पुनरागमन गर्दै होबार्ट हरिकेन्सको एकेडेमीलाई ३९ रनले हरायो । सोही लय दोहोर्याउँदै नेपालले चौथो खेलमा अष्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्ध चार विकेटको जित निकाल्यो । पाँचौँ र छैटौँ खेलमा भने नेपालले फेरि लय गुमायो ।
नेपालले पाँचौँ खेलमा हैदराबाद किङ्समेन एकेडेमीविरुद्ध ३१ रन र भिक्टोरिया सिए–११ विरुद्ध एक विकेटको पराजय व्यहोर्यो । यसरी समग्रमा नेपालले छ खेलबाट चार अङ्क मात्र जोड्यो । नेपाल तालिकाको सातौँ स्थानमा रह्यो ।
ब्याटिङमा किन सुधार देखिएन ?
अष्ट्रेलियामा खराब नतिजा दोहोर्याउनुमा त्यहाँ खेलेको अनुभवको कमी रह्यो । नेपालका पूर्वराष्ट्रिय क्रिकेटर शरद भेषवाकर पनि अष्ट्रेलियाको पिचमा खेल्न कठिन हुने बताउँछन् ।
“अष्ट्रेलियाको पिचमा बल धेरै बाउन्स हुन्छ । हाम्रा लागि त्यहाँको पिच कठिन नै मानिन्छ । यद्यपि हामीले त्यहाँको पिचमा पनि खेल्ने बानीको विकास गर्नुपर्छ,” भेषवाकरले भने, “यस प्रतियोगितामा नेपालले लय पाउन निकै सङ्घर्ष गरेको देखियो । ब्याटिङमा कुशलबाहेक अरू ब्याटर चल्न नसक्दा टोलीले आफूअनुकूल नतिजा निकाल्न सकेन ।”
खेलमा पराजय व्यहोरे पनि यस्तो प्रकारको प्रतियोगिताले आगामी दिनमा सिनियर टोलीलाई धेरै फाइदा पुग्ने उनको बुझाइ छ । “अष्ट्रेलिया भ्रमणमा नेपाल ‘ए’ ले अपेक्षाअनुसार नतिजा दिन नसके पनि केही खेलमा प्रतिस्पर्धात्मक क्रिकेट भने खेल्यो ।
यस प्रकारका प्रतियोगिताले खेलाडीको क्षमता अभिवृद्धि गर्न धेरै मद्दत पुर्याउँछ,” भेषवाकर भन्छन्, “ठूला प्रतियोगितामा खेल्दा खेलाडीमा आत्मविश्वास बढ्छ । साथै उनीहरूसामु आफ्नो क्षमता देखाउने अवसर पनि मिल्छ ।”
प्रकाशित समय : १७:१२ बजे


















