गृहपृष्ठ क्लिन अप नेपालको १३औँ साधारणसभा सम्पन्न, पारदर्शिता र जवाफदेहितामा जोड
क्लिन अप नेपालको १३औँ साधारणसभा सम्पन्न, पारदर्शिता र जवाफदेहितामा जोड
काठमाडौं । वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन तथा दिगो विकासका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) को १३औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ।
साधारणसभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, वित्तीय अनुशासन, सामाजिक जवाफदेहिता तथा आगामी कार्यदिशाबारे समीक्षा गरिएको थियो।
सभामा क्लिन अप नेपालका साधारण सदस्य, स्थानीय तहका प्रतिनिधि, सरकारी विद्यालयका प्रतिनिधि, विकास साझेदार तथा सहयोगी निकाय, निजी क्षेत्र, साझेदार संस्था र कर्मचारीसहित करिब ४० जनाको सहभागिता थियो।
क्लिन अप नेपालका अध्यक्ष अमोद कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपसचिव सुरेश विश्वकर्माले स्वागत मन्तव्य दिएका थिए। कार्यक्रमको सहजीकरण संस्थाकी सचिव प्रार्थना न्यौपानेले गरेकी थिइन्।
साधारणसभाले आर्थिक वर्ष २०८२/८३ मा संस्थाले सञ्चालन गरेका कार्यक्रम तथा गतिविधिको समीक्षा गरेको थियो। त्यस क्रममा संस्थाका उपलब्धि, वित्तीय अवस्था, कार्यान्वयनका क्रममा देखिएका चुनौती, सिकाइ तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा कोषाध्यक्ष सिमरन शेरचनले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। सुजन एस. एण्ड एसोसिएट्सका चार्टर्ड एकाउन्टेन्ट सुजन सुवेदीले वित्तीय लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए।
त्यस्तै, कार्यकारी निर्देशक रविन्द्र लामिछानेले संस्थाको समग्र प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वर्षभरि सञ्चालन गरिएका प्रमुख कार्यक्रम, उपलब्धि, संस्थागत विकास, साझेदारी तथा आगामी प्राथमिकताबारे जानकारी दिएका थिए।
सामाजिक परीक्षक नमस्कार शाहले सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका गतिविधि, त्यसको सामाजिक प्रभाव तथा सरोकारवालाप्रतिको जवाफदेहिताबारे जानकारी दिएका थिए।
साधारणसभामा प्रतिवेदन प्रस्तुतिसँगै संस्थाको कार्यसम्पादन, पारदर्शिता, वित्तीय अनुशासन तथा सामाजिक उत्तरदायित्वका विषयमा सदस्य र सरोकारवालाबीच छलफल भएको थियो। वित्तीय लेखापरीक्षण, संस्थागत प्रगति प्रतिवेदन तथा सामाजिक परीक्षणलाई साधारणसभाको प्रक्रियामा समेटिनुले संस्थागत सुशासनलाई प्राथमिकता दिइएको संस्थाले जनाएको छ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघकी महासचिव देवी खड्का, ICIMOD की Intervention Manager Erica Udas, ललितपुर महानगरपालिकाका वातावरण इन्जिनियर प्रदीप अमात्य, युवा गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष नारायण गिरी तथा Community Information Network (CIN) का पत्रकार लिलप्रकाश चन्दले शुभकामना तथा मन्तव्य दिएका थिए।
उनीहरूले वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन तथा दिगो विकासका क्षेत्रमा क्लिन अप नेपालले गर्दै आएको कामको प्रशंसा गर्दै आगामी दिनमा संस्थाको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
स्थानीय सरकार, विकास साझेदार, निजी क्षेत्र, नागरिक समाज र समुदायबीचको सहकार्यलाई थप बलियो बनाउँदै वातावरणीय चुनौती समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको उनीहरूको भनाइ थियो।
साधारणसभाका अवसरमा संस्थाका कार्यक्रम तथा गतिविधिमा निरन्तर सहयोग र सहकार्य गर्दै आएका विशिष्ट अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो।
क्लिन अप नेपालले आगामी दिनमा संस्थागत पारदर्शिता, वित्तीय अनुशासन, जवाफदेहिता र उत्तरदायित्वलाई निरन्तर प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।
कार्यकारी निर्देशक रविन्द्र लामिछानेले वातावरण संरक्षण, दिगो फोहोरमैला व्यवस्थापन तथा उत्थानशील समुदाय निर्माणका लागि स्थानीय सरकार, सरकारी तथा गैरसरकारी संस्था, विकास साझेदार, निजी क्षेत्र, समुदाय, स्वयंसेवक र नागरिक समाजसँगको सहकार्य थप विस्तार गरिने बताए।
साधारणसभाको समापनमा संस्थाले साधारण सदस्य, सरकारी तथा गैरसरकारी निकाय, विकास साझेदार, सहयोगी संस्था, निजी क्षेत्र, साझेदार संस्था, समुदाय, स्वयंसेवक तथा कर्मचारीप्रति आभार व्यक्त गरेको थियो।
क्लिन अप नेपालले स्वच्छ, स्वस्थ तथा उत्थानशील समुदाय निर्माणसँगै हरित र दिगो नेपाल निर्माणका लागि विभिन्न सरोकारवालाबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता दोहोर्याएको छ।
प्रकाशित समय : २१:११ बजे


















