गृहपृष्ठ महालक्ष्मी विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग
महालक्ष्मी विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंकले भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकले भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको छ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका रसुवागढी, टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती, त्रिशूली र देवीघाटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको थियो।
यस विषम परिस्थितिको सामना गर्न बैंकले आफ्नो तर्फबाट तथा बैंकमा कार्यरत कर्मचारीको एक दिनबराबरको पारिश्रमिकसमेत समेटेर कुल ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकले विपद्मा ज्यान गुमाएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।
महालक्ष्मी विकास बैंकले विपद्को यस कठिन घडीमा प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्दै राहत, उद्धार तथा पुनःस्थापनाका लागि सम्बन्धित निकाय र सरोकारवालाबाट भइरहेका प्रयासमा आफ्नो सहयोग निरन्तर रहने प्रतिबद्धता जनाएको छ।
प्रकाशित समय : १९:१० बजे


















