गृहपृष्ठ बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, ३ अर्ब ५५ करोड पुग्यो
बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, ३ अर्ब ५५ करोड पुग्यो
काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको लेखापरीक्षित वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ३८.०१ प्रतिशतले बढेको हो।
अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा करिब २ अर्ब ५७ करोड रुपैयाँ थियो। नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ। अघिल्लो वर्ष १८ रुपैयाँ ९४ पैसा रहेको ईपीएस बढेर २५ रुपैयाँ ७५ पैसा पुगेको हो।
त्यस्तै, बैंकको इक्विटीमा प्रतिफल (आरओई) १४.३९ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो प्रतिफल ११.७० प्रतिशत थियो।
बैंकको वितरणयोग्य नाफामा समेत वृद्धि भएको छ। प्रतिशेयर वितरणयोग्य नाफा अघिल्लो वर्षको १५ रुपैयाँ ४८ पैसाबाट बढेर २० रुपैयाँ ८६ पैसा पुगेको बैंकको वित्तीय विवरणमा उल्लेख छ।
समीक्षा अवधिमा सानिमा बैंकको कर्जा तथा निक्षेप दुवैमा वृद्धि भएको छ। बैंकको खुद कर्जा तथा सापटी ११.१९ प्रतिशतले बढेर २०३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै, बैंकको कुल निक्षेप १०.८४ प्रतिशतले बढेर २४९ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ।
बैंकको खराब कर्जा (ग्रस एनपीए) अनुपातमा समेत सुधार आएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३.०१ प्रतिशत रहेको ग्रस एनपीए घटेर गत असार मसान्तमा २.८७ प्रतिशतमा झरेको हो।
खराब कर्जा अनुपातमा आएको कमीले बैंकको कर्जा गुणस्तरमा सुधार भएको देखाएको छ। बैंकिङ क्षेत्रमा खराब कर्जा व्यवस्थापन महत्वपूर्ण विषय बन्दै गएको अवस्थामा सानिमा बैंकको एनपीएमा आएको कमीलाई सकारात्मक रूपमा हेरिएको छ।
सानिमा बैंकको पुँजी पर्याप्तताको अवस्था पनि सुदृढ रहेको छ। बैंकको टियर–१ पुँजी पर्याप्तता अनुपात १०.१७ प्रतिशत र कुल पुँजी पर्याप्तता अनुपात १२.८३ प्रतिशत रहेको छ।
उक्त अनुपातले बैंकको पुँजीगत अवस्था नियामकीय आवश्यकताअनुसार बलियो रहेको देखाउँछ।
नाफा तथा वितरणयोग्य नाफामा भएको वृद्धिसँगै सानिमा बैंकले साधारण सेयरधनीलाई १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले साधारण सेयरधनीलाई ७.३६८५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो।
त्यस्तै, बैंकले अग्राधिकार (प्रिफरेन्स) सेयरधनीका लागि ८.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। अग्राधिकार सेयरको हकमा सेयर बाँडफाँट भएको मितिदेखि आर्थिक वर्षको अन्त्यसम्मको अवधिलाई आधार मानी अनुपातिक रूपमा लाभांश वितरण गरिने बैंकले जनाएको छ।
समग्रमा, सानिमा बैंकको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणमा नाफा, कर्जा तथा निक्षेप, प्रतिशेयर आम्दानी र वितरणयोग्य नाफामा वृद्धि भएको देखिएको छ। साथै, खराब कर्जा अनुपातमा समेत कमी आएको छ।
प्रकाशित समय : १९:०२ बजे


















