गृहपृष्ठ नाडाद्वारा बाढी प्रभावितका लागि १० लाख रुपैयाँ सहयोग
नाडाद्वारा बाढी प्रभावितका लागि १० लाख रुपैयाँ सहयोग
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हालैको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उपलब्ध गराइएको नाडाले जनाएको छ।
भदौ १० गते केरुङ, रसुवा, टिमुरेलगायत क्षेत्रमा आएको आकस्मिक तथा भीषण बाढीबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो।
नाडाले बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा पुगेर राहत सामग्रीसमेत वितरण गरिरहेको जनाएको छ। नाडाको टोलीले प्रभावित नागरिकको तत्कालीन आवश्यकता पहिचान गरी खाद्यान्न तथा आवश्यक सामग्रीलगायतका राहत सामग्री वितरण गरिरहेको जनाएको छ।
विपद्को यस कठिन घडीमा बाढी प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत नगद सहयोगसँगै प्रत्यक्ष राहत तथा मानवीय सहयोगलाई निरन्तरता दिइरहेको नाडाले जनाएको छ।
प्रभावित नागरिकको पीडामा साथ दिँदै आवश्यक सहयोग पुर्याउनु आफ्नो सामाजिक दायित्व भएको नाडाको भनाइ छ।
अर्थमन्त्रीसँग भेट गर्न गएको प्रतिनिधिमण्डलमा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल तथा सहकोषाध्यक्ष नीलमणि पाठकलगायतको उपस्थिति थियो।
प्रकाशित समय : १९:१२ बजे


















