गृहपृष्ठ विपद् प्रभावित क्षेत्रमा उपचारसहितको प्राविधिक टोली परिचालन
विपद् प्रभावित क्षेत्रमा उपचारसहितको प्राविधिक टोली परिचालन
काठमाडौँ । कृषि सेवा विभागले विपद् प्रभावित क्षेत्रमा घाइते पशुपन्छीको उद्धार, आकस्मिक उपचार, मृत पशुपन्छीको सुरक्षित व्यवस्थापन तथा जैविक सुरक्षाका लागि औषधि उपचारसहितको प्राविधिक टोली परिचालन गरेको छ ।
विपद् प्रभावित क्षेत्रमा प्रदेश तथा स्थानीय सरकार र सुरक्षा संयन्त्रको समन्वयमा विभागले घाइते पशुपन्छीको उद्धार, आकस्मिक उपचार मृत पशुपन्छीको सुरक्षित विसर्जन र जैविक सुरक्षाको प्रबन्ध गर्न औषधि उपचारसहितको प्राविधिक टोली परिचालन गरेको हो ।
विभागका महानिर्देशक उमेश दाहालका अनुसार भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नदी तटीय क्षेत्रमा कृषि, वन तथा पर्यावरणमन्त्री मन्त्री गिता चौधरीको समन्वयमा सो प्राविधिक टोली पठाइएको छ ।
विभागले प्रभावित क्षेत्रको पशुपन्छीको प्रभावकारी उद्धार उपचार असह्य पशुपन्छीको आकस्मिक व्यवस्थापन तथा सम्भावित महामारीको रोकथाम कार्यमा जुट्न पशु सेवासँग सम्बन्धित सम्पूर्ण सरकारी तथा गैरसरकारी निकाय, पेसागत सङ्घसंस्था उद्यमी तथा व्यवसायी पशु कल्याणसम्बन्धी संस्थाहरू नागरिक समाजलगायतलाई आग्रह गरेको छ ।
प्राविधिक टोली बाढी प्रभावित क्षेत्रमा पुगेको विभागले जनाएको छ । उक्त टोलीले नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारीसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा खटिनुका साथै टोलीको पहलमा उद्धार तथा राहतसम्बन्धी गतिविधि सञ्चालन गरिएको महानिर्देशक दाहालले बताए ।
टोलीले नुवाकोटका भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका सम्बन्धित अधिकारीसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा आवश्यक पर्ने पशुको औषधि, खोप तथा अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको विभागले जनाएको छ ।
प्रकाशित समय : २१:१९ बजे


















