गृहपृष्ठ हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने

हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने

हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौँ । जनैपूर्णिमाको अवसरमा रसुवाको गोसाइँकुण्डमा लाग्ने मेलामा सहभागी हुने तीर्थयात्रीको स्वास्थ्यलाई लक्षित गर्दै हिमालयन उद्धार सङ्घले स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।

सङ्घले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी गोसाइँकुण्ड जाने भक्तजनको स्वास्थ्य उपचार तथा सहजीकरणका लागि पाँच चिकित्सकसहित सात सदस्यीय टोली गोसाइँकुण्ड प्रस्थान गरेको जानकारी दिएको हो।

डा. सिभानी रायमाझीको नेतृत्वमा डा. टपेन्द्र ढकाल, डा. अविनाशकुमार शाह, डा. उदय पाण्डे, डा. प्रज्ज्वल लुइँटेल, चिकित्सा शिक्षाकी विद्यार्थी नम्रता अधिकारी र सहयोगी प्रकाश खत्री टोलीमा छन्।

सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले गोसाइँकुण्ड जाने तीर्थयात्रीको स्वास्थ्यलाई ध्यानमा राखेर चिकित्सक टोली पठाइएको बताए। उनका अनुसार टोलीले एकादशीदेखि पूर्णिमासम्म गोसाइँकुण्डमा स्वास्थ्य सेवा उपलब्ध गराउनेछ।

समुद्री सतहदेखि ४ हजार ३८० मिटरको उचाइमा रहेको गोसाइँकुण्डमा तीर्थयात्रीलाई लेक लाग्ने अर्थात् उचाइका कारण शरीरमा अक्सिजनको कमी हुने समस्या देखिने गरेको छ। यही समस्यालाई ध्यानमा राख्दै सङ्घले सन् १९९७ देखि निरन्तर गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको सङ्घका अध्यक्ष डम्बर पराजुलीले जानकारी दिए।

सङ्घका अनुसार लेक लाग्ने समस्या समयमै सावधानी अपनाए शतप्रतिशत रोकथाम गर्न सकिन्छ। तर पर्याप्त जनचेतनाको अभावमा कतिपय तीर्थयात्रीले ज्यानसमेत गुमाउने गरेका छन्।

लेक लाग्दा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुनेलगायतका लक्षण देखिन सक्ने भएकाले तीर्थयात्रीले यस्ता लक्षणलाई सामान्य रूपमा लिन नहुने सङ्घले जनाएको छ।

तीर्थयात्रीलाई उचाइमा हुने स्वास्थ्य जोखिमबारे सचेत गराउन यस वर्ष सङ्घले जानकारीमूलक सामग्रीसमेत वितरण गर्ने तयारी गरेको छ।

गत वर्षको गोसाइँकुण्ड स्वास्थ्य शिविरमा सङ्घले ५०० भन्दा बढी बिरामीलाई उपचार सेवा दिएको जनाएको छ।

प्रकाशित समय : १६:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु