गृहपृष्ठ उपचार नपाएर छटपटाउँदै १७ वर्षीय सुरज, आमाको एउटै चाहना–छोरा बचोस्
उपचार नपाएर छटपटाउँदै १७ वर्षीय सुरज, आमाको एउटै चाहना–छोरा बचोस्
कैलाली । “ममी, म त मरिहाल्छु कि क्या हो ?” कैलालीको घोडाघोडी नगरपालिका–३ स्थित सृष्टिनगर मुक्तकमैया शिविरमा बस्ने १७ वर्षीय सुरज चौधरीले आमा रामजानकी चौधरीलाई बेलाबेला यही प्रश्न गर्छन्। छोराको मुखबाट निस्कने यस्ता शब्दले रामजानकीलाई भावुक बनाउँछन्। आर्थिक अभावका कारण छोराको उपचार गर्न नसक्दाको पीडाले उनको चिन्ता झनै बढाएको छ।
सुरजको शरीरभरि वर्षौंदेखि खटिरा र घाउ छन्। लामो समयदेखि फैलिएको स्वास्थ्य समस्याका कारण उनको कानको आधा भागसमेत झरेको छ। शरीरका विभिन्न भागमा रहेका घाउले उनलाई निरन्तर पीडा दिइरहेका छन्। ओछ्यानमा पल्टिँदा घाउमा कपडा टाँसिने र कपडा निकाल्दा थप पीडा हुने गरेको परिवारले जनाएको छ।
शारीरिक पीडाका बाबजुद सुरजको पढ्ने र साथीहरूसँग खेल्ने रहर भने मरेको छैन। उनी हिँडडुल गर्न र बोल्न सक्छन्। आमासँग आफ्ना इच्छा सुनाउँछन्। विद्यालय जाने, साथीहरूसँग खेल्ने र अरू बालबालिकाजस्तै रमाउने उनको चाहना छ।
“ममी, म स्कुल जान्छु,” सुरजले आमासँग भन्ने गरेका छन्। तर उनको यो इच्छा पूरा हुन सकेको छैन। रामजानकीका अनुसार सुरजलाई विद्यालय भर्ना गराउन दुई ठाउँमा प्रयास गरिए पनि स्वास्थ्य अवस्थाका कारण विद्यालयले भर्ना लिन मानेन।
“स्कुल जान्छु भन्छ। दुईवटा विद्यालयमा भर्नाका लागि प्रयास गरेँ। सुरजका कारण अरू बच्चालाई समस्या हुन्छ भन्दै दुवै विद्यालयले भर्ना लिन मानेनन्,” उनले भनिन्।
विद्यालय जान नपाएपछि सुरजको अधिकांश समय घरमै बित्ने गरेको छ। साथीहरूसँग खेल्ने रहर भए पनि उनी खेल्न जान सक्दैनन्। वरिपरिका बालबालिका खेलिरहेको देख्दा सुरज दुःखी हुने गरेको रामजानकी बताउँछिन्।
“साथीसँग खेल्न जान्छु भन्छ तर उसलाई कसैले खेलाउँदैनन्। अरू बच्चा खेलिरहेको देख्दा उसको मन दुख्छ,” उनले भनिन्।
रामजानकीका अनुसार सुरज जन्मिएको १० दिनदेखि नै स्वास्थ्य समस्या देखिएको थियो। त्यसपछि उनले आफ्नो क्षमताले भ्याएसम्म करिब ११ वर्षसम्म छोराको उपचार गराइन्। तर पछिल्लो पाँच वर्षदेखि आर्थिक अभावका कारण उपचार निरन्तर हुन सकेको छैन।
मुक्तकमैया परिवारमा जन्मिएका सुरजको परिवार अहिले सृष्टिनगर मुक्तकमैया शिविरमा बस्दै आएको छ। परिवारको नियमित आम्दानीको भरपर्दो स्रोत छैन। दैनिक गुजारा ज्यालामजदुरीबाट हुने सीमित आम्दानीमा निर्भर छ। घरखर्च धान्नै कठिन अवस्थामा बिरामी छोराको उपचारका लागि आवश्यक रकम जुटाउनु रामजानकीका लागि ठूलो चुनौती बनेको छ।
रामजानकीका अनुसार चिकित्सकले सुरजको रगतमा समस्या देखिएको र उपचारका लागि रगत परिवर्तन गर्नुपर्ने बताएका छन्। उपचारका लागि आवश्यक रकम जुटाउन नसक्दा उनी चिन्तित छिन्।
“पैसा भएको भए छोराको उपचार गराउँथेँ। अस्पताल लैजान पाए, उपचार गराउन पाए र रोग नियन्त्रणमा आए उसको जीवन फेरि सामान्य हुन सक्छ भन्ने आशा छ,” उनले भनिन्।
वर्षौंसम्म छोराको उपचार गराएकी रामजानकी आर्थिक अभावका कारण उपचार रोकिएपछि थप चिन्तित बनेकी छन्। छोराको अवस्था देख्दा उपचार गराउन नसकेको पीडाले उनलाई सताउँछ। तर सुरजको उपचार सम्भव हुने र उनी सामान्य जीवनमा फर्किन सक्ने आशा उनले अझै छाडेकी छैनन्।
सुरजलाई अझै विद्यालय जाने रहर छ। साथीहरूसँग खेल्ने इच्छा छ। अरू बालबालिकाजस्तै सामान्य जीवन बाँच्ने सपना छ। शरीरमा रहेका घाउले उनलाई हरेक दिन पीडा दिइरहे पनि भविष्यप्रतिको उनको चाहना भने जीवितै छ।
“मेरो छोरा बचाउनका लागि सकेजति सहयोग गरिदिनुहोस्,” रामजानकीले आग्रह गरिन्।
सुरजको परिवारका लागि अहिले सबैभन्दा ठूलो आवश्यकता उनको उपचार हो। आर्थिक अभावका कारण रोकिएको उपचार पुनः सुरु गर्न सके सुरजले सामान्य जीवनतर्फ फर्कने अवसर पाउने परिवारको आशा छ।
प्रकाशित समय : १६:०१ बजे

















