गृहपृष्ठ गौमुलमा दश शय्याको अस्पताल सञ्चालन, चिकित्सकको अभाव कायमै

गौमुलमा दश शय्याको अस्पताल सञ्चालन, चिकित्सकको अभाव कायमै

गौमुलमा दश शय्याको अस्पताल सञ्चालन, चिकित्सकको अभाव कायमै

बाजुरा । गौमुल गाउँपालिका–२ मालिवनमा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ । १३ करोड ८४ लाख ९१ हजार रुपैयाँ लागतमा निर्माण गरिएको अस्पताल भवन तयार भए पनि चिकित्सकको अभावका कारण सेवा विस्तारमा चुनौती देखिएको छ ।

२०७७ चैतमा ठेक्का सम्झौता गरी सुरु गरिएको अस्पताल भवन निर्माण कम्पनीले २०८१ माघमा गाउँपालिकालाई हस्तान्तरण गरेको थियो । भवन निर्माण सम्पन्न भए पनि विद्युत्, औषधि, उपकरण तथा जनशक्ति व्यवस्थापनमा ढिलाइ हुँदा अस्पताल सञ्चालनमा आउन सकेको थिएन ।

गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले नवनिर्मित अस्पतालको शुभारम्भ गर्दै चिकित्सकको खोजी भइरहेको बताए । उनका अनुसार मेडिकल अधिकृतका लागि पटक–पटक प्रयास गरिए पनि तत्काल चिकित्सक पाउन सकिएको छैन ।

‘मेडिकल अधिकृतका लागि धेरै खोज्यौं, तर तत्काल पाउन सकिएन,’ रोकायाले भन्नुभयो, ‘केही सम्पर्कमा आएका चिकित्सकले पनि आउन मानेनन् । आवश्यक अन्य जनशक्ति, औषधि र उपकरणको व्यवस्था गरिएको छ । अब तत्काल चिकित्सकको व्यवस्था गरेर नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा दिने तयारीमा छौं ।’

अस्पतालमा दुई जना एमबीबीएस चिकित्सकसहित २२ जना कर्मचारी रहने व्यवस्था गरिएको छ । तर चिकित्सकको पदपूर्ति नहुँदा अस्पतालले अपेक्षित रूपमा सेवा दिन सक्ने अवस्था अझै बनेको छैन ।

गाउँपालिकामै अस्पताल सञ्चालनमा आएपछि सामान्य उपचारका लागि सदरमुकाम मार्तडी तथा धनगढी पुग्नुपर्ने बाध्यता कम हुने स्थानीयको अपेक्षा छ । भौगोलिक रूपमा विकट क्षेत्र भएकाले सामान्य उपचारका लागि समेत बाहिर जानुपर्दा स्थानीयले समय र ठूलो रकम खर्च गर्नुपर्ने अवस्था थियो ।

गाउँपालिका उपाध्यक्ष सीता थापाले स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य रहेको बताउनुभयो । ‘यसअघि सामान्य उपचारका लागि पनि बाहिर जानुपर्ने अवस्था थियो,’ उहाँले भन्नुभयो, ‘विशेषज्ञ चिकित्सकसहित आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गरेर पालिकामै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य छ ।’

अस्पताल सञ्चालनमा आएपछि स्थानीयले अब स्वास्थ्य सेवा सहज हुने अपेक्षा गरेका छन् । स्थानीय सुशील रोकायाका अनुसार पालिकामै चिकित्सकीय सेवा उपलब्ध भए उपचारका लागि बाहिर जानुपर्ने समय र खर्च दुवै घट्नेछ ।

बाजुराका नौ स्थानीय तहमध्ये १० शय्याको अस्पताल सञ्चालनमा ल्याउने गौमुल दोस्रो स्थानीय तह हो । यसअघि जगन्नाथ गाउँपालिकाले २०८० चैतमा १० शय्याको अस्पताल सञ्चालनमा ल्याएको थियो ।

भवन र उपकरण तयार भइसके पनि चिकित्सक नहुँदा दुर्गमका नागरिकलाई स्थानीय तहमै गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्य अझै पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन ।

प्रकाशित समय : १३:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु