गृहपृष्ठ चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सु गाउँमा जमिन चिराचिरा परेपछि स्थानीय त्रासमा छन् । मनसुनी वर्षापछि ठाउँठाउँमा जमिन धसिनुका साथै पहिरोको जोखिम बढेपछि गाउँका ५८ परिवार घर हुँदाहुँदै राति त्रिपालमुनि बस्न बाध्य भएका छन् ।

“जमिनमा परेको चिरा हेर्दा आफ्नै मन फाटेजस्तो लाग्छ । जमिन जति फाट्दै जान्छ, त्यति नै मन पनि फाट्दै जान्छ,” स्थानीय टेक थापाले भन्नुभयो ।

गत साउन २८ गते अविरल वर्षासँगै आएको पहिरोले दुई घर पुरिएका थिए । त्यस क्रममा २० वर्षीया प्रतीक्षा थापाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । पहिरोले करिब ६० रोपनी खेतीयोग्य जमिनमा समेत क्षति पुर्‍याएको छ । खानेपानी र विद्युत् सेवासमेत प्रभावित भएका छन् ।

घरका आँगनदेखि खेतबारीसम्म चिरा परेपछि स्थानीयलाई घरमा बस्नसमेत डर लाग्न थालेको छ । पानी पर्दा चिराबाट पानी पस्ने, जमिन थप धसिने र जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम रहेको स्थानीय बताउँछन् ।

त्रिवेणी नगरपालिकाले जमिनको अवस्था हेर्दा पूरै बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको जनाएको छ । तर, बस्ती स्थानान्तरणका लागि नगरपालिकाको स्रोत पर्याप्त नभएकाले प्रदेश र सङ्घीय सरकारको सहयोग आवश्यक रहेको नगरप्रमुख कर्णबहादुर थापाले बताउनुभएको छ ।

स्थानीयले तत्काल गाउँको भौगर्भिक अध्ययन गरी जोखिमयुक्त परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन् ।

“आकाशमा बादल देखिन्छ, हाम्रो नजर पहाडतिर जान्छ । पानी पर्न थाल्छ, ध्यान जमिनतिर हुन्छ,” टेक थापाले भन्नुभयो, “त्यसैले हामीलाई राहत होइन, सुरक्षित बास चाहिएको छ ।”

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बाजुराका नौवटै स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा छन् ।

प्रकाशित समय : १२:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु