गृहपृष्ठ ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीयः गृहमन्त्री गुरुङ
ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीयः गृहमन्त्री गुरुङ
ललितपुर । गृहमन्त्री सुधन गुरुङले नागरिकको सेवामा ललितपुर महानगरपालिकाले गरेको काम प्रशंसनीय र उदाहरणीय रहेको बताएका छन् ।
ललितपुर महानगरपालिकाले बालकुमारीदेखि बल्खुसम्म जडान गरेको ‘स्मार्ट स्ट्रिट लाइट’को शुभारम्भ कार्यक्रममा उहाँले महानगरपालिकाले कला, संस्कृति र सभ्यताको संरक्षणमा गरेको काम अनुकरणीय रहेको बताए।
गृहमन्त्री गुरुङले ललितपुर र भक्तपुरले नेपालको कला, संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै त्यहाँ पुग्दा देशको गौरव महसुस हुने बताए। उनले ललितपुर महानगरपालिकाले नयाँ सोचका साथ सञ्चालन गरेका कामबाट गृह मन्त्रालयले समेत सिक्न सक्ने बताउँदै यस्ता नवप्रवर्तनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
गृहमन्त्री गुरुङले आफूमा शासकीय घमण्ड र सत्ताको लोभ नभएको उल्लेख गर्दै देश र समाजका लागि सकारात्मक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बालकुमारीदेखि बल्खुसम्मको सात दशमलव नौ किलोमिटर सडकखण्डमा जडान गरिएको स्मार्ट स्ट्रिट लाइटले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताए। उनले स्मार्ट स्ट्रिट लाइटको अवधारणा नेपालमा ललितपुर महानगरपालिकाले सुरु गरेको दाबी गरे।
प्रकाशित समय : ०६:३९ बजे

















