गृहपृष्ठ नवनियुक्त प्राज्ञहरूको कार्यविभाजनः राष्ट्रिय गजल दिवस मनाइने

नवनियुक्त प्राज्ञहरूको कार्यविभाजनः राष्ट्रिय गजल दिवस मनाइने

नवनियुक्त प्राज्ञहरूको कार्यविभाजनः राष्ट्रिय गजल दिवस मनाइने

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ परिषद्को बैठकले नवनियुक्त पदाधिकारीको कार्यविभाजनसहित राष्ट्रिय गजल दिवस मनाउने निर्णय गरेको छ ।

प्रतिष्ठानका कुलपति कुमार नगरकोटीको अध्यक्षतामा भएको बैठकले विभागीय जिम्मेवारी तोकेको हो । नयाँ जिम्मेवारीअनुसार उपकुलपति अविनाश श्रेष्ठलाई गद्य तथा प्रकाशन, सदस्यसचिव डा रोशन शेरचनलाई दर्शन, प्राज्ञ प्रतिसरा सायमीलाई लोकसाहित्य तथा नारी लेखन, प्राज्ञ डा कृष्णराज सर्वहारीलाई सामाजिक शास्त्र तथा इतिहास, प्राज्ञ सीता तुम्खेवालाई मातृभाषा तथा लिपि, प्राज्ञ तीर्थ गुरुङलाई अनुवाद, मौखिक इतिहास तथा अन्तरराष्ट्रिय सम्बन्ध, प्राज्ञ रूपा झा धीरूलाई बाल तथा किशोर साहित्य, प्राज्ञ नवीन अभिलाषीलाई दलित साहित्य, युवा लेखन तथा डिजिटलाइजेसनको प्रमुखको जिम्मेवारी दिइएको छ । यस्तै प्राज्ञ दीपक सापकोटालाई काव्य, संस्कृति तथा डिजिटलाइजेसन, प्राज्ञ डा दुर्गाबहादुर घर्तीलाई समालोचना, भाषा, व्याकरण तथा कोष विभागको प्रमुख दिइएको छ ।

बैठकले हरेक वर्ष मोती जयन्ती (कुशे औँसी)लाई राष्ट्रिय गजल दिवसका रूपमा मनाउने र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानलगायत सम्बन्धित सरोकारवाला सङ्घसंस्थासँग सहकार्य गरी आउँदो मङ्सिरभित्र दुईदिने सुदूरपश्चिम प्रदेशस्तरीय साहित्य महोत्सव आयोजना गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।

नेपालको लामो साहित्यिक इतिहास बोकेको प्रज्ञा प्रतिष्ठानका नवनियुक्त पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथसँगै यही साउन २६ गते कमलादीस्थित कार्यालयमा कार्यभार सुरु गरेका थिए ।

नवनियुक्त पदाधिकारीलाई कुलपति नगरकोटीले यही साउन २२ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसमक्ष शपथग्रहण गरेका थिए । मन्त्री पौडेलको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसबमोजिम प्रधानमन्त्री वालेन्द्र शाहले यही साउन १९ गते तीनैवटा प्रज्ञा प्रतिष्ठानका कुलपतिसहित पदाधिकारीलाई मनोनयन गरेका थिए ।

प्रकाशित समय : १५:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु