गृहपृष्ठ सडक सीमा पुनरावलोकन गर्न सभापति लामिछानेको ध्यानाकर्षण

सडक सीमा पुनरावलोकन गर्न सभापति लामिछानेको ध्यानाकर्षण

सडक सीमा पुनरावलोकन गर्न सभापति लामिछानेको ध्यानाकर्षण

ताप्लेजुङ । ताप्लेजुङका सरोकार भएका निकायका प्रतिनिधिले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरी सडक विस्तारलगायत जिल्लाका विकास निर्माणका विविध विषयमा ध्यानाकर्षण गराएका छन् ।

ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापासहितको प्रतिनिधिमण्डलले सभापति लामिछानेसँग भेट गरी मेची राजमार्गअन्तर्गत फुङलिङ नगरपालिका–८ खोक्सेखोलाबाट सुकेटारसम्मको सडक सीमा पुनरावलोकनका लागि पहल गरिदिन आग्रह गरेको हो ।

सडक डिभिजन कार्यालय इलामले गत जेठ १३ गते मेची राजमार्गको सडक सीमाअन्तर्गत सडकको केन्द्रबाट दायाँ–बायाँ १५–१५ मिटरभित्र रहेका संरचना हटाउन सूचना जारी गरेको थियो । त्यसपछि फुङलिङ नगरपालिकाको कार्यालयमा सडक आसपासका बासिन्दासहित छलफल भएको थियो ।

उक्त छलफलको निर्णयमा उल्लेख भएअनुसार २०५४ सालमा सहरी विकास तथा भवन निर्माण कार्यालय स्थापना भएपछि सडकको दायाँ–बायाँ ७।५र७।५ मिटर चौडाइ कायम गरी घरजग्गा खरिद तथा संरचना निर्माण गर्न अनुमति दिइएको थियो । सोहीअनुसार जग्गा खरिद गरी घर तथा अन्य संरचना निर्माण गरेर स्थानीय बासिन्दा बसोबास गर्दै आएको सङ्घका अध्यक्ष थापाले बताए ।

विसं २०७२ मा सरकारले मेची राजमार्गको मापदण्ड सडकको केन्द्रदेखि दायाँ–बायाँ १५र१५ मिटर कायम गर्ने निर्णय गरेपछि ती क्षेत्रका जग्गा रोक्का भएका छन् । उहाँका अनुसार जग्गा रोक्का हुँदा आफूहरूले त्यसको उपभोग गर्नबाट वञ्चित हुनुपरेको बजारवासीको गुनासो छ । यस क्षेत्रमा वैकल्पिक सडकसमेत निर्माण भइसकेकाले रोक्का रहेका घरजग्गा फुकुवा गर्न सरकारसँग अनुरोध गर्ने निर्णय यसअघि भएको थियो ।

भेटका क्रममा मेची राजमार्गको सडक सीमा पुनरावलोकनका साथै जिल्लाका विभिन्न विकास निर्माणका विषयमा सभापति लामिछानेलाई जानकारी गराइएको र सकारात्मक प्रतिक्रिया पाइएको रास्वपाका स्थानीय नेता दुर्गा न्यौपानेले बताए । सडकका सन्दर्भमा अध्ययन, छलफल हुने सभापति लामिछानेले प्रतिक्रिया दिएको न्यौपानेले बताए ।

प्रकाशित समय : ०६:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु