गृहपृष्ठ स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै

स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै

स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै

मुस्ताङ । आगामी भदौमा आयोजना हुने जलवायु सम्मेलनका लागि मुस्ताङको घरपझोङ गाउँपालिकाले देशभरका ७५३ वटै स्थानीय तहलाई पत्राचार गरेको छ ।

सम्मेलन भदौ ३० र ३१ गते मुस्ताङको सदरमुकाम जोमसोममा आयोजना हुने गाउँपालिकाले जनाएको छ । जलवायु परिवर्तनका कारण उत्पन्न समस्या, चुनौती तथा जलवायु अनुकूलनका विषयमा साझा धारणा बनाउन सम्मेलन आयोजना गर्न लागिएको हो ।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले गाउँपालिकाले पहिलोपटक ऐतिहासिक रूपमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन आयोजना गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिए ।

सङ्घीय मामिला मन्त्रालयको समन्वयमा सबै स्थानीय तहलाई सम्मेलनमा सहभागी हुन पत्राचार गरिएको उहाँले बताए । सम्मेलनमा हिमाल, पहाड र तराईमा जलवायु परिवर्तनले पारेको असरबारे छलफल गरिनेछ । साथै जलवायु परिवर्तनको असर न्यूनीकरण र सामना गर्न सामूहिक प्रतिबद्धता जनाउँदै घरपझोङ घोषणापत्र २०८३ जारी गरिनेछ ।

सम्मेलनका लागि छ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४५९ गाउँपालिकालाई एकैसाथ लिखित पत्राचार गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए ।

सम्मेलनमा जलवायु परिवर्तनका कारण स्थानीय तहमा देखिएका समस्या, विपद् तथा प्रभाव पहिचान गर्दै त्यसको न्यूनीकरणका उपाय र रणनीतिबारे छलफल हुनेछ । कालीगण्डकी नदी किनार, मुक्तिनाथ क्षेत्र र नीलगिरि हिमालको काखमा बसेर बृहत् छलफल गरी हिमाली जिल्लाका तर्फबाट जलवायु घोषणापत्र जारी गर्ने तयारी गरिएको छ ।

सम्मेलनबाट जारी हुने साझा घोषणापत्रमार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै जलवायु परिवर्तनका असरविरुद्ध स्थानीय तहको साझा आवाज बुलन्द गर्ने उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ ।

सम्मेलनमा जलवायु परिवर्तनका असरसम्बन्धी फोटो प्रदर्शनीसमेत आयोजना गरिनेछ । त्यसका लागि सबै स्थानीय तहलाई भदौ १५ गतेभित्र जलवायु परिवर्तनका असर झल्कने तस्बिर पठाउन अनुरोध गरिएको छ । स्थानीय तहका धारणा तथा घोषणापत्रमा समेट्नुपर्ने विषयसमेत उल्लेख गरी सोही मितिभित्र मस्यौदा पठाउन आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए ।

गाउँपालिकासँग भगिनी सम्बन्ध जोडिएका स्थानीय तह तथा मुस्ताङका अन्य स्थानीय तहको सहयोगमा सम्मेलनको तयारी भइरहेको छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमपहिरो, हिमताल फुट्ने, बाढीपहिरो र नदी कटानजस्ता प्राकृतिक विपद् बढिरहेका छन् । कृषि, पशुपालन, धर्मरसंस्कृति तथा जैविक विविधतामा समेत जलवायु परिवर्तनको ठूलो असर परेको छ ।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा असमान हिमपात हुने, खानेपानीका मुहान सुक्दै जाने, चरन क्षेत्र घट्दै जाने तथा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्ने समस्या देखिएको छ । यसले पशुपालन व्यवसायसमेत प्रभावित हुन थालेको छ ।

प्रकाशित समय : ०६:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु