गृहपृष्ठ करदाता प्रोत्साहन उपहार कार्यक्रममा अब खल्ती पनि सहभागी

करदाता प्रोत्साहन उपहार कार्यक्रममा अब खल्ती पनि सहभागी

करदाता प्रोत्साहन उपहार कार्यक्रममा अब खल्ती पनि सहभागी

काठमाडौं । आईएमई खल्ती लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’मा आफ्ना प्रयोगकर्तालाई सहभागी हुने व्यवस्था मिलाएको छ।

कम्पनीका अनुसार अब खल्तीमार्फत १०० रुपैयाँभन्दा बढीको योग्य डिजिटल भुक्तानी गर्ने प्रयोगकर्ता स्वतः कार्यक्रमअन्तर्गत दैनिक तथा पाक्षिक उपहार छनोटमा सहभागी हुनेछन्।

कार्यक्रमअनुसार प्रत्येक दिन एक जना विजेताले कर कट्टीपश्चात् १ लाख रुपैयाँ र प्रत्येक १५ दिनमा एक जना बम्पर विजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

खल्तीले जनाएको छ, योग्य डिजिटल कारोबारको विवरण सुरक्षित प्रणालीमार्फत स्वतः आन्तरिक राजस्व विभागको प्लेटफर्ममा पुग्नेछ। उपहारका लागि आवश्यक कुपन पनि स्वतः सिर्जना हुने भएकाले प्रयोगकर्ताले खल्ती एपबाटै आफ्नो सहभागिता तथा योग्य कारोबार हेर्न सक्नेछन्।

विभागले प्रत्येक महिनाको १ र १६ गते स्वचालित प्रणालीमार्फत विजेता छनोट गरी मोबाइल फोन र इमेलमार्फत जानकारी गराउने व्यवस्था गरेको छ। खल्तीमार्फत सहभागी भई विजेता बनेका प्रयोगकर्तालाई कम्पनीले पनि आफ्ना विभिन्न माध्यमबाट जानकारी दिने जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले सरकारको करदाता प्रोत्साहन अभियानलाई डिजिटल माध्यमबाट थप प्रभावकारी बनाउन खल्तीले सहकार्य गरेको बताए। उनका अनुसार यसले वित्तीय पारदर्शिता प्रवर्द्धन, बिलमा आधारित कारोबारको अभ्यास विस्तार तथा डिजिटल अर्थतन्त्रलाई सुदृढ बनाउन सहयोग पुग्नेछ।

रेग्मीले सुरक्षित, सहज र समावेशी डिजिटल वित्तीय सेवामार्फत नागरिकलाई औपचारिक अर्थतन्त्रसँग जोड्ने प्रयासलाई कम्पनीले निरन्तरता दिने पनि बताए।

नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त भुक्तानी सेवा प्रदायक आईएमई खल्ती लिमिटेड ‘Khalti by IME’ ब्रान्डअन्तर्गत सञ्चालनमा छ। कम्पनीका अनुसार हाल १ करोड २७ लाखभन्दा बढी दर्ता भएका प्रयोगकर्तालाई डिजिटल भुक्तानी, मर्चेन्ट क्यूआर, बिल भुक्तानी, टिकटिङ, रेमिट्यान्सलगायत विभिन्न वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ।

प्रकाशित समय : ११:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु