गृहपृष्ठ करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक
करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’लाई सहयोग गर्ने उद्देश्यले आफ्नो एमबीएल–स्मार्ट मोबाइल बैंकिङ एपमा ‘बिल जितौँ’ सुविधा सञ्चालनमा ल्याएको छ।
बैंकका अनुसार अब एमबीएल–स्मार्ट एप प्रयोगकर्ताले ‘बिल जितौँ’ मेनुमार्फत आफूले गरेको योग्य डिजिटल कारोबारको संख्या, कारोबारको विवरण तथा उपहार विजेता भए–नभएको जानकारी सहजै हेर्न सक्नेछन्।
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार आन्तरिक राजस्व विभागमार्फत बिल लिने संस्कृतिको विकास, डिजिटल भुक्तानीलाई प्रोत्साहन तथा कर प्रणालीलाई थप पारदर्शी बनाउने उद्देश्यले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ सञ्चालन गरिरहेको छ।
यस कार्यक्रमअन्तर्गत नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि १०० रुपैयाँभन्दा बढी मूल्यका वस्तु वा सेवा खरिद गरी बैंक वा डिजिटल वालेटको मर्चेन्ट क्यूआरमार्फत भुक्तानी गर्ने उपभोक्ताको योग्य कारोबार स्वतः विभागको प्रणालीमा समावेश हुने बैंकले जनाएको छ। यसका लागि छुट्टै दर्ता गर्नुपर्ने व्यवस्था छैन।
कार्यक्रमअनुसार योग्य कारोबारबाट नियमित रूपमा लक्की ड्र गरिनेछ। प्रत्येक दिन एक जना विजेताले कर कट्टीपश्चात् १ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने प्रत्येक १५ दिनमा एक जना बम्पर विजेतालाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गरिने व्यवस्था रहेको छ।
बैंकले आफ्ना ग्राहकलाई १०० रुपैयाँभन्दा माथिको प्रत्येक खरिदमा डिजिटल माध्यमबाट भुक्तानी गर्न, अनिवार्य रूपमा भ्याट बिल लिन, बिल सुरक्षित राख्न तथा एमबीएल–स्मार्ट एपको ‘बिल जितौँ’ मेनुमार्फत आफ्नो योग्य कारोबार नियमित रूपमा जाँच गर्न आग्रह गरेको छ।
माछापुच्छ्रे बैंकले डिजिटल बैंकिङ सेवालाई थप सहज, सुरक्षित र ग्राहकमैत्री बनाउँदै सरकारी डिजिटल भुक्तानी तथा कर सचेतना अभियानमा सहकार्यलाई निरन्तरता दिने जनाएको छ।
प्रकाशित समय : ११:२४ बजे

















