गृहपृष्ठ महालक्ष्मी विकास बैंकमा स्तनपान गराउने आमाका लागि शिशु स्याहार कक्ष र डे–केयर सञ्चालन

महालक्ष्मी विकास बैंकमा स्तनपान गराउने आमाका लागि शिशु स्याहार कक्ष र डे–केयर सञ्चालन

महालक्ष्मी विकास बैंकमा स्तनपान गराउने आमाका लागि शिशु स्याहार कक्ष र डे–केयर सञ्चालन

काठमाडौं । विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीका लागि केन्द्रीय कार्यालय, दरबारमार्गमा शिशु स्याहार कक्ष (लाक्टेसन रुम) तथा डे–केयर सेवा सञ्चालनमा ल्याएको छ।

बैंकले स्तनपान गराइरहेका महिला कर्मचारीलाई सुरक्षित, सहज, स्वच्छ र गोपनीय वातावरण उपलब्ध गराउने उद्देश्यले उक्त सुविधा सुरु गरेको जनाएको छ। बिहीबार आयोजित कार्यक्रममा महालक्ष्मी महिला नेतृत्व तथा विकास फोरमकी अध्यक्षले शिशु स्याहार कक्षको उद्घाटन गरेकी थिइन्।

बैंकका अनुसार महिला कर्मचारीको नेतृत्व क्षमता अभिवृद्धि, पेशागत दक्षता र आत्मविश्वास विकास, कार्यस्थलमा समान अवसर तथा समावेशी वातावरण प्रवर्द्धन गर्ने उद्देश्यले महालक्ष्मी महिला नेतृत्व तथा विकास फोरम गठन गरिएको हो। बैंकको ३२औँ वार्षिकोत्सवको अवसरमा स्थापना भएको उक्त फोरमले महिला सशक्तीकरणसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

महालक्ष्मी विकास बैंकले समावेशिता र लैङ्गिक समानतालाई संस्थागत प्राथमिकतामा राख्दै कर्मचारीमैत्री तथा परिवारमैत्री कार्यसंस्कृति विकासमा जोड दिएको जनाएको छ। मातृत्वप्रतिको सम्मान, कार्य–जीवन सन्तुलन र कर्मचारी कल्याणलाई प्रवर्द्धन गर्ने दीर्घकालीन प्रतिबद्धताअनुसार शिशु स्याहार कक्ष तथा डे–केयर सञ्चालनमा ल्याइएको बैंकको भनाइ छ।

यस अवसरमा बैंकले अन्य संस्थाहरूलाई पनि मातृत्वमैत्री कार्यस्थल निर्माणतर्फ अग्रसर हुन आग्रह गरेको छ। कर्मचारीको स्वास्थ्य, सम्मान र समग्र कल्याणप्रति आफू सधैं प्रतिबद्ध रहने विश्वाससमेत बैंकले व्यक्त गरेको छ।

‘सबल बैंक, सफल सहकार्य’ भन्ने नारासहित वित्तीय सेवा विस्तार गर्दै आएको महालक्ष्मी विकास बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब पनि सञ्चालनमा ल्याएको छ।

प्रकाशित समय : १४:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु