गृहपृष्ठ म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु
म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु
म्याग्दी । बेनीस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामै पहिलो पटक विद्युतीय माध्यमबाट एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याएको छ ।
सङ्घीय सरकारले अघि सारेको शासकीय सुधारका कार्यक्रमअन्तर्गत गण्डकी प्रदेश सरकार मातहत खानेपानी, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय डिजिटल प्रविधिलाई कार्यान्वयनमा ल्याउने यो कार्यालय पहिलो बनेको हो । कार्यालयको प्रशासनिक कार्यसम्पादनमा गुणात्मक सुधार, कागजी प्रक्रियामा कमी ल्याउने, अभिलेख व्यवस्थापन थप सुरक्षित र व्यवस्थित हुने, कार्य सम्पादनको अनुगमन तथा जवाफदेहिता अभिवृद्धि हुने तथा सेवा प्रवाहलाई थप छिटो, सरल र प्रभावकारी बनाउन सहयोग पुगेको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले बताए ।
“तोक आदेश तथा टिप्पणी निर्णय, चिठीपत्रको दर्ता तथा चलानी, हाजिरी बिदा र काज स्वीकृत,अभिलेख व्यवस्थापनलगायतका कार्यहरु डिजिटल प्रविधिबाट मार्फत थालिएको छ,” उनले भने “यो प्रणाली लागू गरेपछि कार्यालयको कामकाजलाई एउटै सूचना प्रविधि प्रणालीमार्फत सरल, सहज, छिटो, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी हुने विश्वास लिएका छौ ।”
एकिकृत कार्यालय ब्यवस्थापन प्रणाली सुरु गर्नुअघि यही साउन दोस्रो हप्ता गण्डकी प्रदेश सरकारको उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले कर्मचारीलाई प्रशिक्षण दिएको थियो । मन्त्रालयले अबको दुई महिनाभित्र प्रदेशका ११ वटै कार्यालयमा एकीकृत कार्यालय ब्यवस्थापन प्रणाली सञ्चालनमा ल्याउने तयारी गरेको मन्त्रालयका प्रशासन महाशाखाका प्रमुख उपसचिव लक्ष्मीभद्र वाग्लेले बताए ।
प्रकाशित समय : ०७:०७ बजे


















