गृहपृष्ठ नेसनल लाइफको ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ सम्मेलन सम्पन्न
नेसनल लाइफको ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ सम्मेलन सम्पन्न
गोरखा । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नारासहित आयोजना गरेको चारदिने ब्रान्च म्यानेजर्स कन्फरेन्स गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेस्ट रिसोर्टमा सम्पन्न भएको छ।
सम्मेलनमा कम्पनीको व्यवसाय विस्तार, आगामी व्यावसायिक रणनीति, प्रतिस्पर्धात्मक बीमा बजारका चुनौती तथा कर्मचारीको क्षमता अभिवृद्धिका विषयमा छलफल तथा प्रशिक्षण दिइएको थियो।
कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले जीवन बीमा व्यवसाय थप प्रतिस्पर्धात्मक बन्दै गएकाले त्यसअनुसार कर्मचारीको क्षमता विकास र व्यवसाय प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताइन्। उनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगमार्फत जीवन बीमा व्यवसाय र डिजिटल मार्केटिङलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्।
कम्पनीले कर्मचारीको वृत्ति विकासका लागि मानव संसाधनमा निरन्तर लगानी गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने अध्यक्ष सिंहले बताइन्।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले नयाँ आर्थिक वर्षसँगै नयाँ सोच, प्रतिबद्धता र लक्ष्यका साथ अघि बढ्नुपर्ने बताए।
सम्मेलनमा विभागीय प्रमुखसहित देशभरका प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारी गरी २०० भन्दा बढीको सहभागिता थियो। नेपाल बीमा प्राधिकरणका निर्देशक शम्भराज लामिछानेले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रशिक्षण दिएका थिए।
त्यस्तै, प्रशिक्षक विश्वराज पौडेलले एआईका विभिन्न उपकरण र त्यसको प्रयोगबाट बीमा व्यवसायको डिजिटल मार्केटिङ प्रभावकारी बनाउने विषयमा प्रशिक्षण दिएका थिए। श्रीलंकाबाट आएका अन्तर्राष्ट्रिय प्रशिक्षक सुरन डी सिल्भाले व्यवसाय विस्तार, वृद्धि तथा प्रतिस्पर्धामा सफल हुने उपायबारे प्रशिक्षण दिएका थिए।
सम्मेलनका अवसरमा आर्थिक वर्ष २०८२/८३ मा शाखा सञ्चालनका विभिन्न सूचकमा उत्कृष्ट शाखा तथा कर्मचारीलाई सम्मान गरिएको थियो। अधिकतम प्रथम बीमाशुल्क संकलन, सक्रिय अभिकर्ता उत्पादन तथा बीमालेख संख्याका आधारमा उत्कृष्ट शाखालाई पनि पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ।
सम्मेलनमा कर्मचारीबीच आपसी सम्बन्ध र सहकार्य बलियो बनाउने उद्देश्यले ब्याडमिन्टन, टेबलटेनिस, म्युजिकल चेयरलगायत मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिएको थियो।
कम्पनीका अनुसार चारदिने सम्मेलनले आगामी व्यावसायिक रणनीति तय गर्नुका साथै कर्मचारीको क्षमता अभिवृद्धि र संस्थागत प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।
प्रकाशित समय : १७:३३ बजे


















