गृहपृष्ठ जन्तेढुङ्गा गाउँपालिकाको उदाहरणीय काम
जन्तेढुङ्गा गाउँपालिकाको उदाहरणीय काम
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले उदाहरणीय काम सुरु गरेको छ । पहिलो पटक झण्डै ६० रोपनी बाँझो जमिनमा आलु उत्पादन गरी प्रशंसनीय काम गरेको हो । गाउँका बाँझो जग्गाको खोजी गर्ने र स्थानीयको सहयोगमा स्थानीय लोपान्मुख खेतीलाई जगेर्ना गर्नेकाम पालिकाले अघि सारेको छ ।
पालिकाले आलुखेती प्रवर्द्धन कार्यक्रमअन्तगत वडा नं। ४ स्थित डम्बर्खु शिवालयको भञ्ज्याङखर्कमा आलुखेती गरेको थियो ।
आर्थिक वर्ष २०८२र८३ मा खेर गएको बाँझो जमिनलाई उपयोग गरी साढे तीन हजार केजी आलु उत्पादन गरेकाले उक्त काम सबैका लागि प्रेररणादयी भएको हो । पालिकाका उपप्रमुख खेमबहादुर खड्काले भण्डारण गरिएको आलु प्रतिकेजी ६० का दरले बिक्री सुरु गरिएको जानकारी दिए । भण्डारण गरिएको मध्य हालसम्म एक हजार २७० केजी आलु बिक्री भइसकेको छ ।
प्राप्त आम्दानीलाई पालिकाको आन्तरिक स्रोतमा जम्मा गर्ने व्यवस्था रहेको प्राविधिक सहायक तोशल भट्टराईले राससलाई जानकारी दिए । यस पालिकाले गत वर्षदेखि तिते फापर प्रवर्द्धन कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । भञ्ज्याङखर्कमा रहेको करिब ६० रोपनी सार्वजनिक जग्गामा आलु तथा फापरखेती गरिँदै आएको हो ।
बाँझो जमिन उपयोगमा ल्याउने गाउँपालिकाको नीति छ । गत वर्ष पहिलो पटक ११ मुरी तिते फापर उत्पादन भएको थियो । ‘स्थानीय बाली प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत उत्पादित तिते फापर प्रतिकेजी ८० मा बिक्री गर्नेगरी सूचना जारी गरिएको छ ।
स्थानीय राजस्व परामर्श समितिको निर्णयअनुसार गाउँपालिकाले उत्पादन गरेको आलु र तिते फापरको मूल्य निर्धारण गरिएको प्रमुख प्रशासकीय अधिकृत सुमन गुरागाईंले जानकारी दिए ।
समितिको बैठकले ५० केजीभन्दा बढी आलु खरिद गर्ने ग्राहकका लागि प्रति केजी रु दुईका दरले छुट दिनेसमेत निर्णय गरेको छ ।
बाँझो जमिन उपयोगमा ल्याउने कार्यक्रम प्रभावकारी बन्दै गएको गाउँपालिकाका प्रमुख अरुणादेवी राई ‘दीक्षा’ ले बताए ।
“गाउँपालिकाले स्थानीय बाली प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । तिते फापर लोप हुने अवस्थामा छ । यो स्वास्थ्यका फाइदाजनक छ”, उनले भन्े “गाउँपालिकाले उत्पादन गरेको तिते फापर बिक्रीका लागि कोसेली घर स्थापना गरिएको छ । चिसापानी बजारमा स्थापना गरिएको कोसेली घरमा किसानले उत्पादन गरेका स्थानीय बाली खरिद गरी भण्डारण गरी बजारसम्म पुर्याउने काम पालिकाले गर्छ ।”
छिमेकी जिल्ला भोजपुरको सीमानामा पर्ने भञ्ज्याङखर्कमा यसवर्ष पनि तिते फापरखेती गर्ने योजना बनाइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले तिते फापरखेतीका लागि जमिन खनजोत गर्न, बीउ छर्न, उत्पादित फापर काट्ने र उठाउने काममा पारिश्रमिक दिएर कामदार लगाउने गरिएको गाउँपालिकाका कृषि विकास शाखा प्रमुख काजोल कुश्माले जानकारी दिएको छन् ।
गाउँपालिकाले निर्वाहमुखी खेती प्रणाली अपनाउँदै आएका नागरिकलाई व्यावसायिक बनाउन प्रोत्साहन रकमसमेत उपलब्ध गराउँदै आएको छ । आफूले उत्पादन गरेका कृषि उपज गाउँपालिकाले उचित मूल्यमा खरिद गरेर बिक्री गर्ने नीति ल्याएपछि किसानहरुसमेत उत्साहित बनेका छन् ।
प्रकाशित समय : १७:३४ बजे


















