गृहपृष्ठ विशेष सेवा ऐनको साविक व्यवस्था जगाउने विधेयक सर्वसम्मतिले पारित

विशेष सेवा ऐनको साविक व्यवस्था जगाउने विधेयक सर्वसम्मतिले पारित

विशेष सेवा ऐनको साविक व्यवस्था जगाउने विधेयक सर्वसम्मतिले पारित

काठमाडौं । प्रतिनिधिसभाले नेपालको विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ सर्वसम्मतिले पारित गरेको छ।

सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ प्रस्तुत गरेको विधेयकलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो। प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

यसअघि बैठकले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको थियो।

छलफलका क्रममा मन्त्री गौतमले देशको समग्र सुरक्षासँग सम्बन्धित सूचना प्रधानमन्त्रीसमक्ष पुग्न आवश्यक रहेको बताइन्। अनुसन्धान गर्ने निकायलाई कुनै एउटा मन्त्रालय वा क्षेत्रमा मात्र सीमित नगरी सबै प्रकारका सूचनाको समन्वय हुने व्यवस्था आवश्यक रहेको उनको भनाइ थियो।

उनले अर्थ मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित विषयमा मात्र नभई सबै प्रकारका अनुसन्धान गुप्तचर निकायमार्फत हुनुपर्ने भन्दै राष्ट्रिय अनुसन्धान ब्युरोलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत राख्ने सरकारको धारणा रहेको बताइन्।

विधेयकमाथिको छलफलमा सांसदहरू सृष्टि भट्टराई, ललिताकुमारी, गणेशबहादुर विश्वकर्मा, दीपककुमार शाह, शाहजान खातुन, यशोधाकुमारी बराल र साजिदा खातुन सिद्धिकीले धारणा राख्दै विभिन्न सुझाव तथा जिज्ञासा प्रस्तुत गरेका थिए।

प्रतिनिधिसभाको अर्को बैठक साउन २६ गते मंगलबार दिउँसो १ बजे बस्नेछ।

प्रकाशित समय : १७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु