गृहपृष्ठ हिमाली क्षेत्रमा नवीकरणीय ऊर्जा प्रविधि विस्तारमा जोड

हिमाली क्षेत्रमा नवीकरणीय ऊर्जा प्रविधि विस्तारमा जोड

हिमाली क्षेत्रमा नवीकरणीय ऊर्जा प्रविधि विस्तारमा जोड

काठमाडौं । उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तन, आधुनिक जीवनशैली तथा बढ्दो पर्यटकीय गतिविधिबाट वातावरणमा परेको असर न्यूनीकरण गर्न नवीकरणीय ऊर्जा प्रविधिको विस्तारमा सरोकारवालाले जोड दिएका छन्।

एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) र प्राक्टिकल एक्सनको पहलमा कार्यान्वयन हुन लागेको ‘स्वच्छ तापका लागि नवीकरणीय ऊर्जाको प्रवर्द्धन’ परियोजना शुभारम्भका क्रममा सहभागीले हिमाली क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउनुपर्ने बताएका हुन्।

उच्च हिमाली क्षेत्रमा लामो समय चिसो हुने भएकाले खाना पकाउन र घर तताउन दाउराको अत्यधिक प्रयोग हुने गरेको छ। दाउराको प्रयोगले घरभित्र र बाहिरको वायु प्रदूषण बढाउनुका साथै हिमाली क्षेत्रमा ब्ल्याक कार्बनको मात्रा बढाएर हिउँ पग्लिने क्रमलाई समेत तीव्र बनाउने बताइएको छ।

परियोजनाअन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित मार्फा गाउँका ६५ घरधुरी तथा पाँच सामुदायिक संस्थामा नवीकरणीय ऊर्जा प्रविधि नमुनाका रूपमा कार्यान्वयन गरिने जनाइएको छ।

इसिमोडका महानिर्देशक पेमा ग्याम्र्टसोले घरभित्रको वायु प्रदूषणले जनस्वास्थ्यमा असर पार्नुका साथै जलवायु परिवर्तनको समस्या बढाउने भएकाले हिमाली क्षेत्रमा स्वच्छ नवीकरणीय ऊर्जाको प्रयोग विस्तार गर्नुपर्ने बताए।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले विभिन्न कार्यक्रममार्फत हिमाली क्षेत्रमा स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्दै आएको बताए। सरकारले स्वीकृत गरेको तापीय ऊर्जा मार्गचित्र कार्यान्वयन गर्न सके वातावरणीय स्वच्छता, ऊर्जाको आवश्यकता र स्थानीयको जीवनस्तरमा सुधार ल्याउन सकिने उनको भनाइ छ।

जोमसोम गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको पालिकालाई लक्षित गरी परियोजना सञ्चालन हुन लागेकोमा खुसी व्यक्त गरे।

प्राक्टिकल एक्सनकी राष्ट्रिय निर्देशक पूजा शर्माले उच्च हिमाली क्षेत्रमा अझै पनि खाना पकाउन र घर तताउन परम्परागत बायोमासमा निर्भर रहनुपर्दा वातावरण र जनस्वास्थ्यमा नकारात्मक असर परिरहेको बताइन्। परियोजनाको कार्यान्वयनपछि त्यस्ता समस्या न्यूनीकरणमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरिन्।

कार्यक्रममा नवीकरणीय ऊर्जा क्षेत्रमा कार्यरत सरकारी निकाय, विकास साझेदार संस्था तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागिता थियो।

प्रकाशित समय : १७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु