गृहपृष्ठ नाडा अटो एक्स्पोमा डोङफेङका बस सार्वजनिक हुँदै
नाडा अटो एक्स्पोमा डोङफेङका बस सार्वजनिक हुँदै
काठमाडौं — चिनियाँ अटोमोबाइल निर्माता डोङफेङका बस नेपालमा सार्वजनिक हुने भएका छन्। हिमालय अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले काठमाडौंको भृकुटीमण्डपमा भदौ २६ गतेदेखि आयोजना हुने नाडा अटो एक्स्पोमा डोङफेङका दुई मोडलका बस सार्वजनिक गर्ने भएको हो।
कम्पनीका अनुसार एक्स्पोमा ७.२ मिटर लम्बाइका २६ देखि ३० सिट क्षमताका बस प्रदर्शन गरिनेछन्। बसको मूल्य तथा अन्य प्राविधिक विवरण एक्स्पोमै सार्वजनिक गरिने कम्पनीले जनाएको छ।
कम्पनीले नेपालमा उपलब्ध अन्य ब्रान्डका तुलनात्मक क्षमताका बसभन्दा कम मूल्यमा डोङफेङका नयाँ बस बजारमा ल्याउने तयारी गरेको दाबी गरेको छ। एक्स्पोमा बुकिङ गर्ने ग्राहकका लागि विशेष छुटको योजना पनि ल्याइने कम्पनीले जनाएको छ।
डोङफेङ मोटर कर्पोरेसन सन् १९६९ मा स्थापना भएको चीनको प्रमुख अटोमोबाइल उत्पादक कम्पनी हो। कम्पनीले यात्रुवाहक तथा व्यावसायिक सवारीसाधन, बस, ट्रक, विद्युतीय सवारी र विशेष प्रयोजनका सवारी उत्पादन गर्दै आएको छ।
डोङफेङका सवारीसाधन विश्वका १०० भन्दा बढी देशमा निर्यात हुँदै आएको कम्पनीको दाबी छ। नेपालमा समेत डोङफेङ ब्रान्डका ट्रक, कार तथा माइक्रोबस बिक्री हुँदै आएका छन्।
नेपालमा ठूला विद्युतीय बसको माग बढ्दै गएको र सरकारले समेत विद्युतीय सार्वजनिक यातायातलाई प्राथमिकता दिन थालेको अवस्थामा डोङफेङका बस भित्र्याउन लागिएको आयाम इन्टरकन्टिनेन्टलले जनाएको छ।
कम्पनीले निकट भविष्यमै ३८ र ५२ सिट क्षमताका ९ तथा १२ मिटर लम्बाइका बससमेत नेपाल ल्याउने तयारी गरेको छ।
हिमालय अर्गनाइजेसनले यसअघि भारतको फोर्स मोटर्स तथा चीनको एसएआईसी ग्रुपअन्तर्गतको म्याक्ससका सवारीसाधनको नेपालका लागि आधिकारिक विक्रेताका रूपमा काम गर्दै आएको जनाएको छ।
डोङफेङका बसको बिक्रीपछिको सेवा तथा स्पेयर पार्ट्स नेपालभर रहेका कम्पनीका शाखा तथा डिलरमार्फत उपलब्ध गराइने कम्पनीले जनाएको छ।
प्रकाशित समय : १९:३३ बजे


















