बाढी र पहिरोले सडक सञ्जाल प्रभावित, केही राजमार्ग पूर्ण बन्द
वि.सं.२०८३ साउन १७ आइतवार ०७:११
shares

अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ।
नेपाल प्रहरीले आइतबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएको र केही सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गरिएको छ।
यस्तै, इलाम नगरपालिका–९ स्थित मेची राजमार्ग वर्षाका कारण हिलाम्मे बनेपछि पूर्ण रूपमा बन्द भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि आवागमन ठप्प भएको प्रहरीले जनाएको छ।
दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारमा सामाकोशी खोलाले सडक कटान गरेपछि लामासाँघु–रामेछाप सडक अवरुद्ध भएको छ। रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि पासाङ ल्हामु राजमार्ग पनि बन्द भएको छ। गोरखाको धार्चे गाउँपालिका–३ अन्डरडाँडामा पहिरो खसेपछि लार्के–बेनीघाट कच्ची सडकसमेत अवरुद्ध भएको छ।
वर्षायाममा बाढी, पहिरो र सडक कटानको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्था बुझ्न र आवश्यक सतर्कता अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

























