गृहपृष्ठ तीव्र हावाबीच ग्रीसमा डढेलो नियन्त्रण चुनौतीपूर्ण
तीव्र हावाबीच ग्रीसमा डढेलो नियन्त्रण चुनौतीपूर्ण
ग्रीसमा तीव्र हावाहुरीका कारण डढेलो नियन्त्रणमा कठिनाइ भएपछि शनिबार सयौँ अग्निनियन्त्रकले एथेन्सको उत्तर–पश्चिममा रहेको लोकप्रिय तटीय रिसोर्ट क्षेत्र जोगाउन सङ्घर्ष गरिरहेका छन् ।
अग्नि नियन्त्रण विभागका अनुसार एथेन्सबाट करिब ७० किलोमिटर उत्तर–पश्चिममा पर्ने भियोटिया क्षेत्रको पोर्टो जेर्मेनोमा ३०० भन्दा बढी अग्निनियन्त्रक परिचालन गरिएको छ ।
“आगो समुद्रसम्म पुगिसकेको छ । घरमा क्षति पुगेको छ”, अग्नि नियन्त्रण विभागका प्रवक्ताले एएफपीलाई बताउनुभयो । उहाँले तीव्र हावाका कारण नियन्त्रण प्रयास प्रभावित भएको जानकारी दिनुभयो ।
“हावाको गति निकै तीव्र रहेकाले नियन्त्रण प्रयास चुनौतीपूर्ण बनेको छ । विमानहरूले सक्दो प्रयास गरिरहेका छन्, तर प्रतिकूल मौसमका कारण केही विमान सञ्चालन गर्न नसकिएपछि तिनलाई अवस्था केही सहज रहेको पेलोपोनेस क्षेत्रको अर्को आगलागी नियन्त्रणमा परिचालन गरिएको छ”, उहाँले भन्नुभयो ।
छिमेकी तटीय गाउँ एगियोस भासिलियोस नजिक शुक्रबार सुरु भएको आगलागीपछि स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो । तर सुरुमा केहीले उक्त आग्रह बेवास्ता गरेपछि करिब ३०० जनालाई समुद्री मार्गबाट उद्धार गरिएको थियो ।
नेसनल अब्जर्भेटरी अफ एथेन्सका वरिष्ठ अनुसन्धानकर्ता तथा डढेलोसम्बन्धी मौसमविद् थियोडोर जियानारोसले पोर्टो जेर्मेनो क्षेत्रमा भएको क्षति कल्पनाभन्दा बाहिरको रहेको बताए ।उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रभावित क्षेत्र चारदेखि पाँच हजार हेक्टरभन्दा बढी रहेको देखिएको जानकारी दिएको छन् ।
यसै साता ग्रीसका विभिन्न क्षेत्रमा, विशेषगरी लोकप्रिय टापु क्रिटमा डढेलो फैलिएको छ । डढेलो नियन्त्रणका क्रममा हालसम्म तीन अग्निनियन्त्रकको मृत्यु भएको छ ।
शुक्रबार एथेन्सको पश्चिममा रहेको हाइडारी उपनगरमा पनि आगलागीको जोखिम बढेपछि केही बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो ।
ग्रीक अधिकारीहरूले शनिबार एथेन्स क्षेत्र, पेलोपोनेस, क्रिटका केही भाग, मध्य ग्रीस तथा टर्कीसँग सीमा जोडिएका क्षेत्रमा डढेलोको उच्च जोखिमको चेतावनी जारी गरेका छन् ।
सयौँ टापु रहेको ग्रीसको भौगोलिक अवस्थाका कारण आपत्कालीन उद्धार टोलीलाई तत्काल परिचालन गर्न चुनौती हुने गरेको छ ।
भूमध्यसागरीय क्षेत्रका अन्य मुलुकजस्तै ग्रीस पनि जलवायु परिवर्तनको प्रभावबाट प्रभावित हुँदै आएको छ । उच्च तापक्रम, बारम्बार आउने तातो हावाको लहर र खडेरीका कारण यहाँ हरेक गर्मीयाममा डढेलोको समस्या देखिने गरेको छ ।
ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले बिहीबार यस गर्मीयाममा देशले कठिन दिन सामना गर्नुपर्ने चेतावनी दिएको थिए । उनले फ्रान्स र स्पेनको तुलनामा गर्मीको सुरुआती चरणमा ग्रीस तुलनात्मक रूपमा सुरक्षित रहे पनि अब चुनौती बढिरहेको बताए ।
प्रकाशित समय : १६:१५ बजे

















