global ime bank Long Banner Ad

गृहपृष्ठ साम्प्रदायिक सद्भावका लागि सबै दल र नेता एकजुट हुनुपर्नेमा रवि लामिछानेको जोड

साम्प्रदायिक सद्भावका लागि सबै दल र नेता एकजुट हुनुपर्नेमा रवि लामिछानेको जोड

साम्प्रदायिक सद्भावका लागि सबै दल र नेता एकजुट हुनुपर्नेमा रवि लामिछानेको जोड

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा विकसित पछिल्लो परिस्थितिप्रति सबै राजनीतिक दल, नेता र नागरिकलाई संयम अपनाउन आग्रह गर्दै साम्प्रदायिक सद्भाव कायम राख्न एकजुट हुनुपर्ने बताएका छन्।

सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा तराई–मधेस केन्द्रित दलका नेतासँग भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले अहिले आरोप–प्रत्यारोप वा घटनाको तत्काल समीक्षा गर्नेभन्दा पनि हिंसा फैलिन नदिन सबै पक्ष केन्द्रित हुनुपर्ने बताए।

उनले अहिले बोलिने अभिव्यक्ति र सामाजिक सञ्जालमा गरिने टिप्पणीले शान्ति र सद्भाव कायम गर्न सहयोग पुग्ने खालको हुनुपर्ने उल्लेख गर्दै उत्तेजना फैलाउने अभिव्यक्तिबाट सबैलाई टाढा रहन आग्रह गरे।

लामिछानेले राजनीतिक दल र नेताहरूले आफूलाई विश्वास गर्ने नागरिकमाझ शान्ति, सद्भाव र संयमको सन्देश पुर्‍याउनुपर्नेमा जोड दिए। “अहिले मूल्याङ्कन गर्ने समय होइन। हिंसा नफैलियोस् र सद्भाव कायम रहोस् भन्नेमा सबै संयमित हुन आवश्यक छ। हामीले बोलेका शब्दले शान्ति कायम गर्न सहयोग गर्नुपर्छ, हिंसा बढाउने होइन,” उनले भने।

उनले दलका नेताहरूले आफ्ना समर्थक र शुभेच्छुकलाई बस्ती–बस्ती र टोल–टोलसम्म शान्ति तथा सहिष्णुताको सन्देश पुर्‍याउनुपर्ने उल्लेख गर्दै आपसमा द्वन्द्व हुँदा त्यसको असर सम्पूर्ण समाजमा पर्ने भएकाले कसैको पनि हित नहुने कुरा बुझाउन आवश्यक रहेको बताए।

लामिछानेले मानिस मानिससँग डराउने अवस्था सिर्जना हुन नदिन सबैले जिम्मेवारीपूर्वक व्यवहार गर्नुपर्ने धारणा राख्दै अहिले साम्प्रदायिक हिंसाको कारण खोज्नेभन्दा पहिले त्यसलाई रोक्न र परिस्थिति सामान्य बनाउन ध्यान दिनुपर्ने बताए। समय आएपछि राजनीतिक र नैतिक जिम्मेवारीबारे समीक्षा गर्न सकिने उनको भनाइ थियो।

उनले परिवारका सदस्यलाई पनि अफवाह र उत्तेजनात्मक गतिविधिबाट टाढा राख्न आग्रह गरे।

छलफलमा सहभागी जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बैठकमा शान्ति, सामाजिक सद्भाव कायम राख्ने र अफवाह फैलिन नदिने विषयमा विशेष जोड दिइएको बताए।

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले सरकारले न्याय, शान्ति–सुरक्षा र साम्प्रदायिक सद्भाव कायम गर्न प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।

देशको पछिल्लो परिस्थितिबारे छलफल गर्न आयोजित बैठकमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो तथा राष्ट्रिय निर्माण दलका नेता समिम अन्सारीलगायतको सहभागिता रहेको थियो।

प्रकाशित समय : २२:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु