काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विभिन्न जिल्लाको तनावप्रति सरकार गम्भीर रहेको प्रधानमन्त्री शाहको भनाइ

2.9K
shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत विभिन्न जिल्लामा भएका घटनाप्रति दुःख व्यक्त गर्दै पछिल्ला दिनमा देखिएको अशान्त वातावरणप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताएका छन्।

बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति सरकारका तर्फबाट समवेदना प्रकट गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइएको जानकारी दिएका छन्।

सम्बोधनमा उनले कुनै एक स्थानमा भएको दुःखद् घटनाका आधारमा सम्पूर्ण समुदायलाई दोषारोपण गर्ने र त्यसको प्रतिशोधका रूपमा अन्य क्षेत्रमा हिंसा फैलाउने कार्य कुनै पनि दृष्टिले स्वीकार्य हुन नसक्ने बताएका छन्। नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा अभ्यास गर्ने मौलिक हक सुनिश्चित गरेको उल्लेख गर्दै त्यसको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए।

प्रधानमन्त्री शाहका अनुसार घटना भएलगत्तै सुरक्षा निकाय परिचालन गरी थप अप्रिय घटना हुन नदिन र शान्ति–सुरक्षा कायम गर्न आवश्यक कदम चालिएको छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको र दोषी जो–कोही भए पनि कानुनी दायरामा ल्याइने उनले स्पष्ट पारे।

उनले शान्ति स्थापना र विश्वासको वातावरण निर्माणका लागि केन्द्रमा सर्वदलीय बैठक बसेको तथा स्थानीय तहमा जनप्रतिनिधि, नागरिक समाज, धार्मिक अगुवा र समुदायका प्रतिनिधिसँग निरन्तर संवाद भइरहेको जानकारी दिए। स्थानीय अवस्थाको अनुगमन, पीडितसँग भेटघाट तथा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन गृहमन्त्री सुरक्षा निकायका उच्च अधिकारीसहित घटनास्थलतर्फ गएको पनि उनले उल्लेख गरे।

देशको समग्र शान्ति–सुरक्षाको अवस्थाबारे राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर आवश्यक निर्णयसमेत गरिएको प्रधानमन्त्री शाहले बताए।

यसैबीच, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्ति प्रसारण नगर्न आग्रह गर्दै उनले सरकारी निकायबाट जारी आधिकारिक सूचनामा मात्र विश्वास गर्न सबैसँग अनुरोध गरेका छन्।

प्रधानमन्त्री शाहले प्रत्येक नागरिकको जीवन र सम्पत्तिको सुरक्षा, सामाजिक सद्भाव र शान्ति कायम गर्नु राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै शान्ति–सुरक्षा भंग गर्ने, अराजकता फैलाउने तथा धार्मिक र सामाजिक सद्भाव खलबल्याउने गतिविधिप्रति सरकार कडा रूपमा प्रस्तुत हुने चेतावनी दिए।

उनले धर्मले समाजलाई जोड्ने, प्रेम र सहिष्णुताको सन्देश दिने उल्लेख गर्दै हिंसा, घृणा र विभाजन कुनै पनि धर्मको मूल मान्यता नभएको बताए। कठिन परिस्थितिमा पनि नेपाली समाजको एकता, सहिष्णुता र आपसी विश्वास नै सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै सबैलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरे।

सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले मैथिली भाषामा पनि नागरिक, राजनीतिक दल, धार्मिक समुदाय, नागरिक समाज र सञ्चारमाध्यमलाई धैर्य, संयम र जिम्मेवारीका साथ राष्ट्रिय एकता, शान्ति, सद्भाव र भाइचारा कायम राख्न आग्रह गरेका छन्।