global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेस नेता आङ्देम्बेद्वारा शान्ति र धार्मिक सहिष्णुताको अपिल

कांग्रेस नेता आङ्देम्बेद्वारा शान्ति र धार्मिक सहिष्णुताको अपिल

कांग्रेस नेता आङ्देम्बेद्वारा शान्ति र धार्मिक सहिष्णुताको अपिल

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशका विभिन्न स्थानमा पछिल्ला केही दिनयता देखिएको तनावपूर्ण घटनाप्रति चिन्ता व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षसँग अपिल गरेका छन्।

बिहीबार जारी विज्ञप्तिमा उनले सुनसरीको देवानगञ्ज नगरपालिका–३ कप्तानगञ्जबाट सुरु भएको तनाव सिरहाको गोलबजार, धनुषाको जनकपुर हुँदै पर्साको वीरगञ्जसम्म फैलिएको उल्लेख गर्दै उक्त घटनाक्रमका क्रममा तीन जनाले ज्यान गुमाएकोप्रति दुःख व्यक्त गरेका छन्।

नेपाल विभिन्न धर्म, भाषा, संस्कृति र समुदायको साझा देश भएकाले यही विविधताबीचको एकता नै मुलुकको सबैभन्दा ठूलो शक्ति रहेको उनको भनाइ छ। नेपाली समाजले लामो समयदेखि एकअर्काको धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै आपसी भाइचारा र सामाजिक सद्भाव कायम राख्दै आएको उल्लेख गर्दै उनले त्यसलाई कुनै पनि परिस्थितिमा कमजोर हुन नदिन आग्रह गरेका छन्।

धर्म, संस्कृति र परम्परा फरक–फरक भए पनि मानवता सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै आङ्देम्बेले हरेक धर्मले प्रेम, करुणा, सहिष्णुता, क्षमा र शान्तिको सन्देश दिने बताएका छन्। धर्म वा जातका नाममा घृणा, हिंसा, अविश्वास र वैमनस्य फैलाउने गतिविधिप्रति सबै सचेत हुनुपर्नेमा उनले जोड दिएका छन्।

विज्ञप्तिमार्फत उनले राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, सञ्चारमाध्यम र युवापुस्तालाई आरोप–प्रत्यारोपमा अल्झिनुभन्दा समाजलाई जोड्ने र विश्वासको वातावरण निर्माण गर्ने काममा सक्रिय हुन आग्रह गरेका छन्।

सरकारले पनि नागरिकको जीवन र सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै बल प्रयोगभन्दा संवाद, विश्वास र कानुनी प्रक्रियामार्फत परिस्थितिलाई सामान्य बनाउन प्रभावकारी पहल गर्नुपर्ने उनको भनाइ छ।

साथै, घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न उनले सरकारसँग माग गरेका छन्।

प्रकाशित समय : २२:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु