गृहपृष्ठ आज देशभर आकस्मिकबाहेकका अस्पताल सेवा बन्द
आज देशभर आकस्मिकबाहेकका अस्पताल सेवा बन्द
काठमाडौं । नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा आज (मंगलबार) देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ।
संघले सोमबार जारी गरेको विज्ञप्तिअनुसार साउन १२ गते देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा स्थगित गरिनेछ।
संघका अनुसार साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामसहित चिकित्सक र स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण भएको थियो। घटनामा चिकित्सकको टाउकोमा गम्भीर चोट लागेको र अस्पतालमा तोडफोडसमेत भएको संघले जनाएको छ।
उक्त घटनाका दोषीमाथि कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता भइरहेका बेला प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा प्रहरीद्वारा बल प्रयोग गरिएको तथा संघका केन्द्रीय कार्यकारिणी सदस्य र नारायणी शाखाका अध्यक्षलगायत चिकित्सकमाथि गालीगलौज र दुर्व्यवहार भएको आरोप पनि संघले लगाएको छ।
चिकित्सक संघले दुवै घटनाको घोर भर्त्सना गर्दै स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न, दोषीलाई कानुनी दायरामा ल्याउन र यस्ता घटना दोहोरिन नदिन प्रभावकारी व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
यसैबीच, आन्दोलनका कारण आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक ओपीडी तथा नियमित स्वास्थ्य सेवा प्रभावित हुने भएकाले अत्यावश्यक अवस्थाबाहेकका बिरामीले अस्पताल जानुअघि सम्बन्धित अस्पतालसँग सेवा सञ्चालनबारे जानकारी लिन आग्रह गरिएको छ।
प्रकाशित समय : ०६:०५ बजे



















