नेपालगञ्जमा रगत अभाव
वि.सं.२०८३ मंसिर ४ शुक्रवार १६:१७
shares

बाँके । चाडपर्व लक्षित लामो बिदाका कारण नेपालगञ्जमा रगतको अभाव हटन सकेको छैन । नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र, नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले रगतको अभाव हटाउन नियमित रक्तदान कार्यक्रम अनिवार्य भएको उल्लेख गरे ।
उनले भने, “नेपालगञ्जका अस्पतालका लागि मात्रै दैनिक ७० देखि ८० पिन्ट रगत माग हुन्छ तर त्योभन्दा निकै कम मात्रामा रगत मौज्दात रहेको छ”, प्रमुख रेग्मीले लुम्बिनीसहित सुदूरपश्चिम र कर्णाली प्रदेशका बिरामीलाई समेत रगत पु-याउनुपर्ने दायित्व भएको जानकारी दिँदै संस्थागत रक्तदानले संस्थालाई बल पुग्ने बताए ।
उक्त रक्तसञ्चार केन्द्रले खजुरा र कोहलपुरका शाखाबाट समेत रगत सङ्कलन गरेको छ । उनले कतिपय घटनामा बिरामीका लागि सट्टापट्टा हुने गरी रगत लिने दिने भइरहेको उल्लेख गर्दै रगतको अभाव हटाउन रक्तदान बढाउन जरुरी भएको बताए ।
“अहिले केही संस्थाले फाटफुट रुपमा रक्तदान गरिरहेका छन् तर यो प्रर्याप्त छैन”, रेग्मीले भने । उनले केहीदिनमा अर्को संस्थाले पनि रक्तदान गर्न लागेको जानकारी दिँदै केही पिन्ट रगत त्यहाँबाट पनि सङ्कलन हुने बताए ।
नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र, नेपालगञ्जका अनुसार कोहलपुरमा आठ अस्पतालका लागि २० देखि २५ पिन्ट र खजुराका दुइ अस्पतालका लागि १० देखि १२ पिन्ट रगतको दैनिक माग भइरहेको छ । नेपालगञ्जका २७ अस्पतालका लागि करिब ८० पिन्ट रगतको माग भएको छ ।

























