गृहपृष्ठ अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा शुल्क छुट, फ्लाइ दुबई उडानलाई थप बल
अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा शुल्क छुट, फ्लाइ दुबई उडानलाई थप बल
पोखरा । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्ने उद्देश्यले विभिन्न विमानस्थल शुल्कमा छुट दिने निर्णय गरेको छ। यससँगै नयाँ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आकर्षित हुने र पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानको मार्ग खुल्ने अपेक्षा गरिएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विसं २०८५ भदौ मसान्तसम्म अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका लागि विमानस्थलमा लाग्ने पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिने तथा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य ले सरकारको निर्णयले पोखरा–दुबईसहित अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान विस्तार गर्न र नयाँ वायुसेवा कम्पनी भित्र्याउन सहज वातावरण तयार हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँका अनुसार यस निर्णयले पर्यटन प्रवर्द्धन, हवाई पहुँच विस्तार तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्नेछ।
यसैबीच, फ्लाइ दुबई ले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सीधा उडान सुरु गर्ने तयारी गरेको छ। विश्वकै प्रमुख ट्रान्जिट हब दुबईसँग पोखरा प्रत्यक्ष जोडिने भएपछि युरोप, अमेरिका लगायतका गन्तव्यमा यात्रा गर्ने नेपाली यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला का अनुसार दुबई–पोखरा–दुबई उडान तालिका स्वीकृत भइसकेको छ भने फ्लाइ दुबईले टिकट बुकिङसमेत खुला गरिसकेको छ। उहाँले यस उडानले यात्राको समय छोट्याउने, खर्च घटाउने तथा अन्तर्राष्ट्रिय यात्रा थप सहज बनाउने बताउनुभयो।
प्रत्यक्ष अन्तर्राष्ट्रिय उडान सुरु भएपछि विदेशी पर्यटकहरू पोखरामा सिधै आउन सक्नेछन्। साथै वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणका लागि मध्यपूर्व र अन्य मुलुक जाने यात्रुले पनि यसको प्रत्यक्ष लाभ लिन सक्ने अपेक्षा गरिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठमा फ्लाइ दुबईलाई दुबई–पोखरा–दुबई दैनिक उडान सञ्चालनको अनुमति दिएको थियो। सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्न कूटनीतिक पहल गर्ने घोषणा गरेलगत्तै फ्लाइ दुबईले उडान अनुमति पाएको हो।
झण्डै २२ अर्ब रुपैयाँ ऋण लगानीमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको तीन वर्ष पुग्न लाग्दा पनि हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। छिमेकी मुलुकतर्फका केही चार्टर उडानबाहेक विमानस्थल आन्तरिक उडानमै सीमित रहँदै आएको छ। सरकारले घोषणा गरेको शुल्क छुटको व्यवस्था नियमित अन्तर्राष्ट्रिय उडान विस्तारतर्फ महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
प्रकाशित समय : ०८:४३ बजे



















