global ime bank Long Banner Ad

गृहपृष्ठ साउन १ गतेदेखि बर्डफ्लुको नयाँ सङ्क्रमण छैन, अवस्था नियन्त्रणमा

साउन १ गतेदेखि बर्डफ्लुको नयाँ सङ्क्रमण छैन, अवस्था नियन्त्रणमा

साउन १ गतेदेखि बर्डफ्लुको नयाँ सङ्क्रमण छैन, अवस्था नियन्त्रणमा

चितवन ।देशभर फैलिएको बर्डफ्लु (एभियन इन्फ्लुएन्जा)को सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ। साउन १ गतेयता नयाँ सङ्क्रमण नदेखिएको भन्दै पशु सेवा विभागले अवस्था सामान्य बन्दै गएको जनाएको छ।

विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार पछिल्लो पटक काठमाडौँको गोकर्णेश्वर–१ सुन्दरीजलमा सङ्क्रमण पुष्टि भएको थियो। त्यसयता नयाँ सङ्क्रमण नदेखिएको र प्रभावित क्षेत्र वरपरबाट नमुना सङ्कलन गरी परीक्षणलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो।

“अहिले अवस्था नियन्त्रणमा छ। बर्डफ्लु देखिएका क्षेत्रको वरिपरिबाट नमुना ल्याएर परीक्षण गरिरहेका छौँ,” महानिर्देशक दाहालले भन्नुभयो।

विभागका अनुसार चैत ४ गते केन्द्रीय पशु पन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणबाट पहिलोपटक बर्डफ्लु पुष्टि भएको थियो। त्यसपछि चैत ६ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रभावित क्षेत्र घोषणा गरेको थियो। मोरङको उर्लाबारी–८ र सुन्दरहरैँचा–४ मा पहिलोपटक सङ्क्रमण देखिएको थियो।

बर्डफ्लुले मुख्य रूपमा व्यावसायिक लेयर्स कुखुरा प्रभावित भए पनि प्यारेन्ट, ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालिजमा समेत सङ्क्रमण देखिएको विभागले जनाएको छ। हालसम्म ११ जिल्लामा रोग पुष्टि भएको छ।

काठमाडौँ उपत्यकाबाहेकका सात जिल्लामा रोग पूर्ण रूपमा नियन्त्रणमा आइसकेको विभागले जनाएको छ। काठमाडौँ उपत्यका र काभ्रेमा मात्रै ११९ स्थानमा सङ्क्रमण पुष्टि भएको थियो। त्यसमध्ये काठमाडौँमा ३२, ललितपुरमा सदर चिडियाखानासहित १५ र भक्तपुरमा ४५ स्थानमा रोग देखिएको थियो। काभ्रेपलाञ्चोकमा २७ स्थान प्रभावित भएका थिए।

विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार सङ्क्रमण नियन्त्रणका क्रममा देशभर आठ लाख ३५ हजार ५६३ वटा पन्छी नष्ट गरिएको छ। साथै ११ लाख ६५ हजार ६६३ वटा अण्डा र दुई लाख ४५ हजार ३५ किलो दाना पनि नष्ट गरिएको छ। काठमाडौँ उपत्यका र काभ्रेमा मात्रै तीन लाख ६७ हजार ८३५ वटा पन्छी नष्ट गरिएको थियो।

प्रभावित किसानलाई राहत उपलब्ध गराउन सरकारले रु ५२ करोड बजेट व्यवस्था गरेको छ। हालसम्म १०४ जना किसान तथा फार्म सञ्चालकको खातामा रु ५० करोड ७१ लाख १५ हजार ७०४ राहत रकम निकासा भइसकेको विभागले जनाएको छ।

देशभरका पन्छी रोग अन्वेषण प्रयोगशालाले परीक्षणलाई तीव्रता दिएका छन्। सरकारी तदारुकता र किसानको सहयोगका कारण बर्डफ्लु नियन्त्रणमा आएको विभागको भनाइ छ। सङ्क्रमण घटेसँगै अण्डा र मासुको बजार पनि सुधार हुन थालेको छ भने किसानले उचित मूल्य पाउन थालेका छन्।

प्रकाशित समय : ०८:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु