नेपाल इन्जिनियरिङ कलेजमा निःशुल्क स्वास्थ्य शिविर
वि.सं.२०८३ साउन ६ बुधवार १७:१८
shares

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (एनईसी) ले काठमाडौं मेडिकल कलेज (केएमसी) सँगको सहकार्यमा विद्यार्थी, प्राध्यापक तथा कर्मचारीका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
भक्तपुरको दुवाकोटस्थित कलेज परिसरमा आयोजित शिविरमा सयौं विद्यार्थी, प्राध्यापक र कर्मचारीको स्वास्थ्य परीक्षण गरिएको कलेजले जनाएको छ।
कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारीले गुणस्तरीय शिक्षाका लागि स्वस्थ शैक्षिक वातावरण अपरिहार्य हुने भन्दै विद्यार्थी, शिक्षक र कर्मचारीको स्वास्थ्यलाई प्राथमिकतामा राखेर शिविर आयोजना गरिएको बताए। उनका अनुसार यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ।
शिविरमा नाक, कान तथा घाँटी (ईएनटी), आँखा, दन्त, नसा तथा हाडजोर्नी र जनरल मेडिसिनका विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण गरेका थिए। साथै भिडियो एक्स–रे, इसिजी (ईसीजी) र प्याथोलोजी सेवासमेत उपलब्ध गराइएको थियो। सहभागीलाई आवश्यक स्वास्थ्य परामर्श पनि प्रदान गरिएको थियो।
स्वास्थ्य परीक्षणका क्रममा थप उपचार आवश्यक देखिएका सहभागीलाई काठमाडौं मेडिकल कलेजमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराइने केएमसीले जनाएको छ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले विद्यार्थी तथा कर्मचारीको स्वास्थ्य र कल्याणलाई प्राथमिकतामा राख्दै नियमित रूपमा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसअघि कलेजले निःशुल्क आँखा परीक्षण शिविर र रक्तदान कार्यक्रमसमेत आयोजना गरेको थियो।
कलेजले आकस्मिक स्वास्थ्य समस्या परेका विद्यार्थी तथा कर्मचारीलाई तत्काल प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले हेल्थ डेस्कसमेत सञ्चालनमा ल्याएको जनाएको छ।

























