global ime bank Long Banner Ad

गृहपृष्ठ जापानमा साम्राज्ञी बन्ने बाटो अझै बन्द

जापानमा साम्राज्ञी बन्ने बाटो अझै बन्द

जापानमा साम्राज्ञी बन्ने बाटो अझै बन्द

जापानको संसद्ले शाही उत्तराधिकारसम्बन्धी कानूनमा संशोधन पारित गरे पनि महिलालाई सम्राट बन्न नदिने व्यवस्था यथावत् राखेको छ । अधिकांश जापानी नागरिकले महिला उत्तराधिकारको समर्थन गरे पनि संसद्ले पुरुष वंशमार्फत मात्रै सिंहासन हस्तान्तरण हुने पुरानै व्यवस्था कायम राखेको हो ।

शुक्रबार संसद्को माथिल्लो सदनबाट ठूलो बहुमतले पारित भएको संशोधनले १५ वर्षभन्दा माथिका अविवाहित पुरुष टाढाका शाही नातेदारलाई पुनः शाही परिवारमा फर्किन अनुमति दिएको छ । साथै सामान्य नागरिकसँग विवाह गरेपछि पनि महिला सदस्यले आफ्नो शाही हैसियत कायम राख्न पाउने व्यवस्था गरिएको छ । यसअघि पुरुष सदस्यलाई मात्र यस्तो सुविधा उपलब्ध थियो ।

यद्यपि सन् १९४७ देखि लागू इम्पेरियल हाउसहोल्ड कानूनअनुसार महिलाले क्रिसान्थेमम सिंहासनमा बस्न पाउने व्यवस्था अझै गरिएको छैन । यसले सम्राट नारुहितोकी २४ वर्षीया छोरी राजकुमारी आइको तथा युवराज हिसाहितोका दुई दिदीलाई भविष्यमा सम्राट बन्ने सम्भावनाबाट वञ्चित गरेको छ ।

जापानको शाही उत्तराधिकारको भविष्य अहिले १९ वर्षीय युवराज हिसाहितोमा निर्भर छ । सम्राट नारुहितोका भतिजा रहेका उहाँले हाल जीवविज्ञान र कीरासम्बन्धी अध्ययन गरिरहनुभएको छ । उनको भविष्यमा छोरा नभए शाही वंशको उत्तराधिकार अन्त्य हुन सक्ने अवस्था रहने विश्लेषण गरिएको छ ।

महिला उत्तराधिकारको विषय सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) भित्रै विवादको विषय बनेको थियो । महिला साम्राज्ञीको विपक्षमा रहेकी जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइचीको धारणा पनि कानून निर्माणमा प्रभावशाली रहेको बताइएको छ ।

एलडीपीका वरिष्ठ नेता सेइचिरो मुराकामीले भने राजकुमारी आइकोलाई सम्राट बन्ने सम्भावनाबाट वञ्चित गर्नु ‘पूर्ण रूपमा अपमानजनक’ भएको टिप्पणी गर्े ।

दोस्रो विश्वयुद्धपछि शाही हैसियत गुमाएका शाखा परिवारमध्ये एकका सदस्य ८१ वर्षीय असाहिरो कुनीले टाढाका पुरुष आफन्तलाई पुनः शाही परिवारमा ल्याउने व्यवस्था व्यवहारिक नभएको बताएको छन् । उनका अनुसार स्वतन्त्र जीवन बिताइसकेका व्यक्तिलाई शाही परिवारको कठोर जीवनशैलीमा अभ्यस्त गराउनु निकै कठिन हुनेछ ।

एलडीपी समर्थक मानिने जापानको प्रमुख दैनिक योमिउरी शिम्बुनले समेत हालैको सम्पादकीयमार्फत सरकारको निर्णयप्रति असन्तुष्टि जनाएको थियो ।

हाल जापानको शाही परिवारमा १६ सदस्य छन् तीमध्ये पाँच जना मात्र पुरुष छन् । तीमध्ये पूर्वसम्राट अकिहितो, उहाँका भाइ, वर्तमान सम्राट नारुहितो, उनका भाइ र युवराज हिसाहितो उत्तराधिकारको पुरुष शृङ्खलामा छन् । मे महिनामा गरिएको असाही शिम्बुनको सर्वेक्षणअनुसार ७२ प्रतिशत जापानी नागरिकले महिलालाई पनि सिंहासनमा बस्न पाउने गरी कानून संशोधन गर्न समर्थन गरेका थिए ।रासस

प्रकाशित समय : १७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु