गृहपृष्ठ सिटिजन्स सदाबहार योजनाको अनलाइन दर्ता तथा कारोबार प्रणाली सञ्चालनमा
सिटिजन्स सदाबहार योजनाको अनलाइन दर्ता तथा कारोबार प्रणाली सञ्चालनमा
काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले आफ्नो खुलामुखी सामूहिक लगानी कोष ‘सिटिजन्स सदाबहार योजना’ अन्तर्गत अनलाइन दर्ता तथा कारोबार प्रणाली सञ्चालनमा ल्याएको छ। योजना व्यवस्थापक तथा डिपोजिटरीका रूपमा सिटिजन्स क्यापिटल लिमिटेड र कोष प्रवर्द्धकका रूपमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड रहेको उक्त योजनामा आबद्ध तथा आबद्ध हुन इच्छुक लगानीकर्तालाई थप सहज, छिटो तथा प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यले प्रणाली सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त उक्त योजनामा सहभागी लगानीकर्ताले अब डिजिटल माध्यममार्फत योजनासँग सम्बन्धित विभिन्न सेवाहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन्। कम्पनीका अनुसार नयाँ प्रणालीले लगानी प्रक्रियालाई थप सरल, सुरक्षित तथा प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
अनलाइन प्रणालीमार्फत लगानीकर्ताले एकमुष्ट लगानीका लागि आवेदन तथा रकम भुक्तानी, व्यवस्थित लगानी योजनामा दर्ता, मासिक किस्ता भुक्तानी, लाभांश पुनःलगानी योजनामा आबद्धता तथा अनलाइन दर्ता र प्रवेश सुविधा प्राप्त गर्न सक्नेछन्।
कम्पनीका अनुसार लगानीकर्ताले चौबीसै घण्टा र सातै दिन सेवा उपयोग गर्न सक्नेछन्। यसबाट कार्यालय समय वा भौगोलिक दूरीका कारण हुने असुविधा हट्दै जहाँसुकैबाट योजना सम्बन्धी सेवा प्राप्त गर्न सकिने विश्वास लिइएको छ। साथै, लगानी प्रक्रिया थप छिटो, सुरक्षित, पारदर्शी तथा प्रयोगकर्तामैत्री बन्ने अपेक्षा गरिएको छ।
सिटिजन्स क्यापिटलले डिजिटल वित्तीय सेवाको विस्तार, लगानीकर्ताको पहुँच अभिवृद्धि तथा पुँजी बजारमा सहभागिता बढाउने रणनीतिअनुरूप उक्त प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ। कम्पनीले आगामी दिनमा पनि प्रविधिमार्फत लगानीकर्तालाई थप नवीन, सहज तथा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कम्पनीले ‘नेपालको प्रत्येक घरमा व्यवस्थित लगानीको पहुँच’ विस्तार गर्ने लक्ष्यसहित सिटिजन्स सदाबहार योजनाको व्यवस्थित लगानी कार्यक्रमलाई थप पहुँचयोग्य, पारदर्शी तथा लगानीकर्तामैत्री बनाउँदै लैजाने जनाएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको सिटिजन्स क्यापिटलमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी–व्यवसायीहरूको समेत लगानी रहेको छ। कम्पनीको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृतमा सबिरबाबु श्रेष्ठ रहेका छन्।
प्रकाशित समय : १५:५४ बजे



















