गृहपृष्ठ एक वर्षमै थप १ हजार मेगावाट विद्युत् थप्ने लक्ष्य
एक वर्षमै थप १ हजार मेगावाट विद्युत् थप्ने लक्ष्य
काठमाडौं । नेपालको ऊर्जा क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने लक्ष्यसहित सरकारले आगामी आर्थिक वर्षका लागि विद्युत् उत्पादन र प्रसारण पूर्वाधार विस्तारको महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ। उत्पादन क्षमता वृद्धि, विद्युत् पहुँच विस्तार र प्रसारण प्रणाली सुदृढीकरणलाई केन्द्रमा राख्दै ऊर्जा मन्त्रालयले बहुआयामिक कार्यक्रम अघि सारेको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षभित्र राष्ट्रिय विद्युत् प्रणालीमा थप १ हजार ४० मेगावाट विद्युत् जोडिनेछ। यससँगै देशको कुल जडित विद्युत् उत्पादन क्षमता ५ हजार ३३५ मेगावाट पुग्ने लक्ष्य राखिएको छ। निर्माणाधीन तथा अन्तिम चरणमा पुगेका जलविद्युत् आयोजनालाई समयमै सम्पन्न गर्न विशेष ध्यान दिइने मन्त्रालयको योजना छ।
विद्युत् उत्पादनसँगै प्रसारण लाइन विस्तारलाई पनि प्राथमिकता दिइएको छ। आगामी वर्ष ६६ केभी प्रसारण लाइनको लम्बाइ ७ हजार ८०८ सर्किट किलोमिटर र ३३ केभी लाइन ८ हजार ४२९ सर्किट किलोमिटरसम्म विस्तार गरिनेछ। साथै १२ वटा प्रसारण लाइन आयोजना सम्पन्न गर्ने लक्ष्य पनि तय गरिएको छ।
सरकारले प्रतिव्यक्ति विद्युत् खपत ५११ किलोवाट घण्टासम्म पु¥याउने तथा विद्युत् चुहावट १२.०३ प्रतिशतमा सीमित गर्ने योजना बनाएको छ। साना तथा लघु जलविद्युत् आयोजनाबाट ४३ मेगावाट र सौर्य ऊर्जाबाट थप ९९ मेगावाट उत्पादन क्षमता थपिनेछ।
ऊर्जासँगै सिँचाइ र नदी नियन्त्रण कार्यक्रमलाई पनि सँगसँगै अगाडि बढाइने भएको छ। आगामी वर्ष १५ हजार ७७६ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गरिनुका साथै ७० किलोमिटर तटबन्ध निर्माण गरी कृषि भूमि संरक्षण गर्ने लक्ष्य सरकारले लिएको छ।
प्रकाशित समय : १५:२१ बजे



















